नेकपा एकीकृत समाजवादी मकवानपुरको अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै पार्टी अध्यक्ष माधवकुमार नेपाल ।

हेटौँडाः नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले देशको स्वाभिमानको रक्षा गर्न सबै वामपन्थी शक्तिहरु एक हुनुपर्ने बताउनुभएको छ । शनिबार हेटौँडामा एकीकृत समाजवादी मकवानपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले देशमा अहिले प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु सलबलाउन थालेकोले देशको स्वाभिमानको रक्षा गर्न आवश्यक रहेको बताउनुभयो ।

एकीकृत समाजवादी वाम मोर्चामा सहभागी भएको र अन्य शक्तिहरु पनि जोड्न आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले देश, जनता र समाजका निम्ति एकीकृत समाजवादी पार्टी बनेको दावी गर्नुभयो । उहाँले हरेक कुराको आत्मसात गरी अगाडि बढेमा सबै चुनौतिको सामना गर्न सकिने बताउनुभयो । नेता कार्यकर्ताहरुलाई समाज रुपान्तरणमा अविचलित भएर अगाडि बढ्न आग्रह गर्नुहुँदै नेपालले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र नेताहरु जनताको सेवा समर्पित हुनुपर्ने बताउनुभयो । नेताले देश बिगार्यो भन्ने भाष्यलाई हटाउन आवश्यक रहेको उहाँको भनाई छ ।

समाजमा केही राम्रा नेताहरु रहेको बताउनुहुँदै उहाँले देश निर्माणको बारेमा सबैले छलफल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । देशमै भएको प्राकृतिक स्रोतहरुलाई सदुपयोग नगरी विदेशबाट सामग्रीहरु आयात भइरहेको र देशमा आर्थिक समस्या निम्तिएको भन्दै यसबारे बहसै चलाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले सरकारमा जानु ठुलो कुरा नभएको बताउनुहुँदै गएर कति काम गर्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण हुने बताउनुभयो । रेकर्डका लागि र कुर्सीकै लागि सरकारमा जाने आफुहरुको आचरण नभएको उहाँले बताउनुभयो । नेताहरुले असल आचरण बोक्नुपर्ने बताउनुहुँदै पछिल्लो समयमा पार्टीमा जनताको आकर्षण बढ्न थालेको उहाँले जीकिर गर्नुभयो । उहाँले नेता, कार्यकर्ताहरुलाई पार्टीमा थप सदस्य जोड्ने गरी लाग्न निर्देशन पनि दिनुभएको छ ।

नेकपा एकीकृत समाजवादीका महासचिव गंगा तुलाधरले एकीकृत समाजवादी मात्रै युवा, महिला र सबै वर्गको हित र अधिकार रक्षा गर्ने पार्टी भएको बताउनुभएको छ । अहिले एकीकृत समाजवादी जनताको आकर्षण बढ्न थालेका भन्दै उहाँले आगामी २०८४ सालको निर्वाचनमा नेकपा एमालेभन्दा ठूलो पार्टी बन्ने दावी गर्नुभयो । यस्तै पार्टीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले एकीकृत समाजवादी जनताका लागि बनेको बताउनुभयो । कुनै सत्ताको लोभ नगरी अहिले समाजवादी जनताको सेवामा क्रियाशील रहेको उहाँको भनाई छ । आफ्नो पार्टीलाई पटक–पटक सरकारका लागि प्रस्ताव आएपनि सत्ताको लोभमा नपरेको उहाँले बताउनुभयो । उहाँले मकवानपुरमा पार्टी स्थापनाको बेला ४–५ सय पार्टी सदस्यबाट सुरु भएकोमा अहिले ३ हजार ५ सयभन्दा बढी पार्टी सदस्य पुगेको बताउनुभयो ।

पार्टी मकवानपुरका अध्यक्ष विष्णु दाहालको सभाध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य माधव पौडेल, ललित बस्नेत र केन्द्रीय सदस्यहरु मुनु सिग्देल लगायतको आतिथ्य रहेको थियो ।