जनप्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) का प्रधानाध्यापक भुपेन्द्र चौलागाई आफ्नो प्रस्तुती राख्नुहुँदै ।

शैक्षिक सत्र २०८० मा हामीले शैक्षिक सुधार कार्यक्रमहरु सञ्चालन गरेका थियौं । शिक्षकको क्षमता अभिविद्धिका लागि तालिम, गोष्ठि र प्रशिक्षण सञ्चालन गरेका थियौं । विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रष्फुटन गराउने साथै सीप र क्षमता विकास गराउनका लागि विभिन्न तालिम, प्रशिक्षण र शैक्षिक सहक्रियाकलापमुखी कार्यक्रमहरु सञ्चालन गर्यौ ।

भवन निर्माण र मर्मत गर्नेमा पनि हामीले केही काम गर्न सफल भयौं । मनोसामाजिक क्षेत्र अन्तर्गत विद्यार्थी, शिक्षक र अभिभावकहरुको त्रिपक्षीय सम्बन्ध सुधारका लागि विभिन्न कार्यक्रमहरु तालिम, भेला, गोष्ठि र अन्तरक्रियाहरु सञ्चालन गर्यौ। पठनपाठनका साथसाथै आयआर्जनका स्रोतहरु पहिचान गर्यौ । आर्थिक सक्षमताका लागि दातृ निकायहरुसँग सहयोग जुटाउने, अनेक रुपमा विद्यार्थीहरुका लागि समुह गठन तथा क्लब गठन गरी विभिन्न क्रियाकलापहरु, कार्यक्रमहरु सञ्चालन गर्ने, शैक्षिक सुधार अन्तर्गत शिक्षक केन्द्रित तालिम सञ्चालन गर्यौ।

विद्यार्थीहरु केन्द्रित तालिम सञ्चालन गरेका थियौं । जसमा जनप्रिय क्रियशन क्याम्प भनेर हामीले दुई चरणमा विदाको समयलाई सदुपयोग गर्यौ । समान्य ज्ञान, कथा, कविता, गजल, निबन्ध, मुक्तक आदि विषयमा प्रशिक्षणात्मक कार्यक्रम सञ्चालन गर्यौ । गायन, चित्रकता, वक्तृत्वकला, नृत्य, वद्यवादन, उद्घोषण तालिमका साथसाथै खेल प्रशिक्षक मार्फत नियमित प्रशिक्षणको व्यवस्था मिलाएका थियौं । विभिन्न खेलकुदमा विद्यार्थी भाइबहिनीले सहभागिता समेत जनाउनुभएको छ । हामीले पुस्तक प्रकाशन, विमोचन कार्यक्रम, पठन संस्कृतिको विकासका लागि बृहत पुस्तक प्रदर्शनी, कक्षा कोठामा बुक कर्नरको व्यवस्थापन गरेका छौं ।

एसईईमा सहभागी हुने विद्यार्थीलाई परामर्श कक्षा सञ्चालनग र्यौ । कक्षा ११ पनि सामान्य र प्राविधिक विषय समेत सञ्चालन रहेको जनप्रिय माविले एसईईमा सहभागी हुने विद्यार्थीलाई फेरी भेटौँ भन्दै परामर्श गरेका छौं । विद्यार्थीकै सक्रिय सहभागितामा शैक्षिक प्रदर्शनी गरेका छौं । विद्यार्थीले सिक्ने, बुझ्ने अवसरका लागि पुस्तकालय व्यवस्थापन गरेका छौं । पुस्तकालयमा करिब एक हजार विषयगत र सन्दर्भ पुस्तक थप गरिएको छ । सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत प्राविधिकतर्फका विद्यार्थीले टनेल निर्माण तथा सञ्चालन, माछा पोखरी निर्माण तथा सञ्चालन, पोल्ट्री हाउस निर्माण र सञ्चालन, फुलखेति, वृक्षरोपणका कार्य पनि उल्लेखनीय भएको छ ।

बेमौसमी तरकारी उत्पादन गरी विद्यार्थीले बिक्री गरेका छन् । नर्सरी व्यवस्थापन गरेर फलफुल, तरकारीका बोट–बिरुवा उत्पादन र बिक्री वितरण गरेर आम्दानी गरिरहेका छौं । गणित प्रयोगशाला सुदृढीकरण र अभिलेख व्यवस्थापन, मिडिया कक्षको नियमित प्रयोग र सहभागिता व्यवस्थापन, बाल समूह गठन, दिव्यसेवा बाल समुह गठन, युवा रेडक्रस गठन र स्काउटलाई सवलीकरण, गणित क्लबलाई निरन्तरता दिने र अघि बढाउने, जनप्रिय अतिरिक्त क्रियाकलाप एवम् साँस्कृतिक विभाग गठन र त्यसलाई निरन्तरता दिएर अगाडि बढाइरहेका छौं । यी सबै क्रियाकलापबाट विद्यार्थी सर्वाङ्गिण ज्ञान हासिल गर्न पाएका छन् ।

शैक्षिक सत्र २०८० को महत्वपूर्ण उपलब्धीका रुपमा हामीले शिक्षकको क्षमता विकास गर्न सफल भएका छौं । शिक्षकहरुमा प्रश्नपत्र निर्माण, परीक्षा मूल्याङ्कन, अभिलेखीकरणमा सूचना प्रविधिको प्रयोग, विद्यार्थीहरुले प्रदेश, जिल्ला, नगर, वडा र विद्यालयस्तरमा विविध विधामा प्रतिस्पर्धाको अवसरसँगै जित हासिल गरेका छन् ।

शैक्षिक सत्र २०८० मा सूचना प्रविधिको ज्ञान हासिल गर्न आवश्यक तालिम, कार्यशालाहरु सञ्चालन गर्न नसक्नु चुनौतिको विषय बन्यो । पछिल्लो चरणमा हामीले सूचना प्रविधिसम्बन्धी तालिम सञ्चालन गरेका छौँ । अंग्रेजी विषयमा फरक मातृभाषा भएको कारण विद्यार्थीले अपेक्षित उपलब्धी हासिल गर्न नसकेको पाएका छौं । विधागत प्रशिक्षकको अभावका कारण संगीत, नृत्य, गायन, चित्रकला जस्ता क्रियाकलापमा उत्कृष्ट नतिजा प्राप्त हुन नसकेको महसुस गरी हामीले बाहिरबाट प्रशिक्षक ल्याएर प्रशिक्षणको व्यवस्था मिलाएका छौं ।

आगामी दिनमा चालु कार्यक्रमलाई निरन्तरता दिँदै औषत सिकाई उपलब्धीमा अभिवृद्धिका लागि उपयुक्त कार्यक्रम गर्ने योजना बनाएका छौं । बार्षिक शैक्षिक क्यालेण्डर कार्यान्वयन गर्ने, विषयगत शिक्षकहरुलाई तालिम र अन्तरक्रिया कार्यक्रम, विषय र तहगतलाई छुटछुटै विभाग सञ्चालन गर्ने योजना बनाएका छौं । विद्यार्थी प्रशिक्षण र तालिम, विद्यालय समुदाय सम्बन्ध सवलीकरण गर्ने, भैतिक सामग्रीको मर्मत गर्ने, पुस्तकालयको पहुँचका लागि उचित व्यवस्थापन गर्ने, नियमित आर्थिक श्रोत पहिचान र परिचालन गर्नेमा हाम्रो ध्यान केन्द्रित हुनेछ ।

पालिकाबाट हुने सहजीकरणमा पूर्वाग्रह हुन नहुने, झन्झटिए कागजी प्रक्रियालाई सरलीकृत गर्नुपर्ने, अनलाइनमा आधारित तथ्याङ्क व्यवस्थापन गर्ने, शिक्षक बढुवा तथा नियुक्तिको सवालमा भयरहित र वैज्ञानिक पद्दति अनुसार व्यवस्थापन गर्ने हो भने समग्रमा सामुदायिक शिक्षामा व्यापक सुधार गर्न सकिन्छ । पाठ्यक्रम प्रवोधीकरण, क्षमता अभिवृद्धि तालिम, क्यास मूल्याङ्कन तालिम, बालविकास सहजकर्तालाई तालिम आदिको व्यवस्थापन गर्नुपर्ने आवश्यकता ठानेका छौं ।

(२०८० चैत २५ गते आयोजना गरिएको कार्यक्रममा हेटौँडा–१६, हटियास्थित जनप्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को योजना प्रस्तुती कार्यक्रममा प्रधानाध्यापक भुपेन्द्र चौलागाईले प्रस्तुत गर्नुभएको विवरणको सम्पादित अंश)