कार्यक्रमको तस्वीर ।

हेटौंडाः हेटौंंडा–१६, हटियास्थित शिवम् सिमेन्ट उद्योगले वातावरण प्रदूषणको काम गरेकाले स्थानीय वासिन्दाहरुले आपत्ति जनाएका छन् । सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गर्नका लागि आगो बाल्ने भट्टीमा कोइला प्रयोग गर्नुपर्ने ठाउँमा प्लाष्टिकजन्य पदार्थ प्रयोग गरेकाले हटियाका स्थानीय वासिन्दाहरुले आपत्ति जनाएका हुन् ।

बिहीबार हेटौंडा उपमहानगरपालिकाको सभाकक्षमा नगर प्रमुख मीनाकुमारी लामा, नगर उपप्रमुख राजेश बानियाँ, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सीताराम रिजाल र जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख सूर्यप्रसाद सेढाइको उपस्थितिमा स्थानीयले आपत्ति जनाएका हुन् । उद्योगले प्लाष्टिकजन्य पदार्थको प्रयोग गरेकाले स्थानीय बासिन्दाहरुको स्वास्थ्यमा असर पर्ने भएकाले एक साताभित्र प्रदूषण न्यूनीकरण नगरे उद्योग सञ्चालन गर्न नदिने भन्दै चेतावनी दिइएको हो ।

सिमेन्ट उद्योगले कोइलाको सट्टा फोहोर क्षेत्रमा फ्याँकिएको विभिन्न प्रकारको वस्तुहरुको प्रयोगलाई बढावा दिएर मानिसहरुको स्वास्थ्यमा असर पारेको स्थानीयको आरोप छ । जनस्वास्थ्यलाई ख्याल नगरेर प्याष्टिकजस्ता वस्तुको प्रयोग गर्नु उचित नभएको भन्दै विरोध गर्नुपरेको स्थानीयले जानकारी दिएका हुन् । करिब २० दिन पहिले उद्योगबाट निलो रंगको धुवाँ उडेकाले प्लाष्टिक जलाएकोजस्तो अनुभव गरेको एक स्थानीयले बताएका छन् । बुधबार दिउँसो उद्योगले गरेको लापरवाही पत्ता लागेको जनाइएको छ ।

हेटौंडा–१६, हटियाका स्थानीयबासी तथा टोल विकास समितिका अध्यक्ष दामोदर दहालले वडा १६ र १७ का बासिन्दाहरुलाई यस्ता प्रकारका क्रियाकलापले दीर्घकालीन रोगको शिकार बनाइरहेको बताउनुभएको छ । सिमेन्ट उद्योगले प्रयोग गरेको प्लाष्टिकजन्य वस्तुले मानिसको स्वास्थ्यमा रोगको असर बढ्ने अध्यक्ष दहालले बताउनुभयो । उद्योगले गरेको लापरवाहीको कारण खोलानालामा नकारात्मक प्रभाव पारिरहेको उहाँको भनाइ छ ।

समाजसँग सहकार्य नगरी उद्योगले मनलाग्दी गरेको, आफ्नो खुशीले पैसा कमाउने कामलाई मात्र प्राथमिकता दिएको दहालले बताउनुभयो । मानिसहरुलाई मतलब नगरेर पैसा कमाउने काममा लागेर सिमेन्ट उद्योग सञ्चालन गरेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । प्राकृतिक श्रोत र साधन दोहन गरी उद्योग सञ्चालन गर्दा गाउँपालिकाको उर्वरभूमि नष्ट गर्ने कामलाई बढावा दिएको उहाँले दावी गर्नुभएको छ ।

नगर प्रमुख लामाले प्रदूषण न्यूनीकरण गर्न सिमेन्ट उद्योगलाई एक साताको समय दिनुभएको छ । बुधबार सिमेन्ट उद्योगको विषयमा स्थानीय बासिन्दाहरुको उपस्थितिमा भएको छलफलमा नगरप्रमुख लामाले उद्योगलाई ७ दिनको समय दिनुभएको हो । सिमेन्ट उद्योगले गरेको लापरवाहीलाई ७ दिनभित्र सुधार नगरेमा नगरपालिकामार्फत सिमेन्ट उद्योगलाई डोजर लगाएर भत्काउने उहाँले बताउनुभयो । सिमेन्ट उद्योगले गरेको कामले स्थानीय बासिन्दाहरु आक्रोशित भएकोले सिमेन्ट उद्योगले यो कार्यको अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ ।

उपमहानगरपालिकामा भएको छलफल कार्यक्रममा प्लाष्टिकजन्य वस्तुको कारणले मानिसहरुलाई परेको असरबारे अनुगमन गर्न समिति गठन भएको छ । हेटौंडा उपमहानगरपालिका वडा–१६ का अध्यक्ष रामकृष्णा कोइरालाको संयोजकत्वमा २१ सदस्यीय समिति गठन भएको हो । समितिको सहसंयोजकमा हेटौंडा–१७ का वडा अध्यक्ष उद्धव सत्याल राखिएको छ । उपमहानगरपालिकाकी वातावरण इन्जिनियर चन्दा खडकालाई सदस्यसचिवमा राखिएको छ ।