शैक्षिकसत्र २०८० को समीक्षा तथा शैक्षिक सत्र २०८१ को योजना प्रस्तुत गर्नुहुँदै प्रधानाध्यापक मालती उप्रेती ।

अमर माविमा शैक्षिक सत्र २०८० मा विद्यार्थी भर्ना अभियान, विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई विद्यालय भित्र्याउने, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक, विद्यार्थीहरु र अभिभावक बीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, शिक्षक व्यवस्थापन गर्ने, माथिल्लो तहका शिक्षकहरु पर्याप्त नभएकोले शिक्षक व्यवस्थापन गर्ने प्रमुख योजना रहेको थियो । हेटौँडा उपमहानगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने अभियानलाई सहयोग गर्ने गरी हामीले पनि बालमैत्री विद्यालय घोषणा गर्ने कार्यक्रम राखेका थियौं । बालबालिकामा अन्तरनिहित क्षमता प्रष्फुटनमा जोड दिने, फुलबारी तथा चौर व्यवस्थापन, सिकाईमा कमजोर विद्यार्थीलाई थप सहयोग गर्ने योजना बनाएका थियौं ।

योजनाको प्रभावकारी कार्यान्वयनका लागि समुदायसँगको समन्वयमा शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र माथिल्ला कक्षाका विद्यार्थीहरुसहित भर्ना अभियानका लागि घरदैलो कार्यक्रम गरिएको थियो । स्थानीेय टोल विकास संस्था, आमा समुह, बाल समुहसँगको सहकार्यमा विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई खोजेर विद्यालय भित्र्याउने, पूर्वप्राथमिक तथा मावि तहमा विज्ञापन गरी शिक्षक नियुक्त गर्ने, मासिकरुपमा विद्यार्थीको समस्याहरुमा केन्द्रित हुँदै शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षक, अभिभावक र विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रम, बालमैत्री विद्यालय घोषणाका लागि विद्यालयले पूरा गर्नुपर्ने २६ वटा सूचकहरु पूरा गरी हाम्रो विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बाल समूह, शिक्षा विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयको साथ लिएर बालमैत्री विद्यालय घोषणा, वार्षिक क्यालेण्डर निर्माण गरी हरेक शुक्रबार अतिरित कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको थियो ।

शैक्षिक सत्र २०८० मा भर्ना अभियान मार्फत् नयाँ विद्यार्थी भित्र्याइयो । मासिकरुपमा विद्यार्थीहरुको समस्यामा केन्द्रित हुँदै शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षक, अभिभावक र विद्यार्थीबीच अन्तरक्रिया गर्ने र समस्याको समाधानमा जोड, सिकाइमा कमजोर विद्यार्थीहरुलाई विद्यालय समय पश्चात सिकाई सहजीकरण गरी सुधार गरिएको, खाना महोत्सव मार्फत नयाँ विद्यार्थीमा व्यवहारिक सीप प्रदान गरिएको, बालबालिकासँग मेयर, उपमेयर कार्यक्रम मार्फत आफना गुनासाहरु राखी विद्यार्थीमा अन्तरक्रियाको अभ्यास गराइएको, पत्रपत्रिकामा रचना छापिनु, रेडियो अन्तरवार्तामा विद्यार्थीको सहभागिता जस्ता क्रियाकलाप गर्न सफल भयौं ।

शिक्षकले पेशागत अधिकार बढी खोज्ने तर कर्तव्य बिर्सनु, तालिम लिएका शिक्षकहरुबाट पनि सो अनुसार शिक्षण क्रियाकलाप नहुनु, अधिकांश शिक्षकहरुमा प्रविधिको ज्ञानको कमीका कारण पुरानै शैलीमा पठनपाठन हुनु, सभाहल नहुँदा अतिरिक्त क्रियाकलाप गर्न कठिनाई हुनु हाम्रा लागि चुनौतिका विषय भए । अनेकौं चुनौतिका बाबजुद पनि सकारात्मक परिवर्तन भएका छन् । विद्यार्थी तथा शिक्षक कमचारीहरुलाई खुसी बनाउन हौसला बढाउने, बालबालिका लगायत शिक्षकलाई समेत आवश्यक मनोपरामर्श कार्यक्रम आयोजना गर्नुपर्ने सिकाई हामीलाई भएको छ ।

चालु शैक्षिक सत्र–२०८१ का लागि शिक्षक, विद्यालय व्यवस्थापन समितिको संयुक्त बैठक बसी शैक्षिक सत्र २०८१ को वार्षिक कार्ययोजना निर्माण गर्ने, अभिभावक शिक्षामा जोड दिने, शिक्षामा सबै बालबालिकाको पहँुच स्थापित गर्ने, विद्यार्थी भर्ना तथा स्वागत, विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भित्र्याउने, भर्ना भएका विद्यार्थीहरुलाई टिकाउन छात्रवृत्तिको व्यवस्था गर्ने, सबैभन्दा बढि विद्यालय उपस्थित हुने विद्यार्थी र अभिभावकलाई वार्षिक भेलामा सम्मान गर्ने लगायतका कार्यक्रम तय गरेका छौं ।
चालु शैक्षिक सत्रका योजनाको प्रभावकारी कार्यान्वयनमा शिक्षक र व्यवस्थापन समितिको संयुक्त बैठकबाट निर्माण गरिएको वार्षिक कार्ययोजना कार्यान्वयन गर्ने, प्रत्येक शिक्षकले पाठयोजना निर्माण र शैक्षिक सामग्री प्रयोगमा जोड दिने, कामको बाँडफाँड गरी अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने, भर्ना हुन बाँकी बालबालिकालाई घरदैलो कार्यक्रम गर्ने, कमजोर विद्यार्थीहरु पहिचान गरी अतिरिक्त कक्षा सञ्चालन गर्ने छौं ।

चालु शैक्षिक सत्रमा हाम्रा लागि पाठयोजना निर्माण र शैक्षिक सामग्री प्रयोगमा शिक्षकलाई जगाउनमै समस्या हुने देखिन्छ । अङ्ग्रेजी माध्यममा सिकाई सहजीकरण गर्न दक्ष जनशक्ति अभाव, टाढाका विद्यार्थीहरुलाई आवत–जावतमा समय खेर जाँदा पढ्ने समय अपुग हुने अवस्था पनि हाम्रा लागि चुनौतिको विषय हो । विद्यालय शिक्षामा विद्यालय परिसरमा सबैको ध्यान जान्छ । तर, विद्यालयलाई सहजीकरण गर्ने सन्दर्भमा हिजो शिक्षा कार्यालय हुँदा नै हामीलाई सहज भएको महसुस भएको छ । आज पालिकालाई नै विद्यालय शिक्षाको अधिकार, जिम्मेवारी दिँदै गर्दा स्थानीय जनप्रतिनिधिबाट सकारात्मक भूमिकाको अपेक्षा गरे पनि त्यसो हुन सकेको छैन । विद्यालयका आवश्यकता परिपूर्तिमा पालिकाले सहयोग गर्नुपर्छ । केही विद्यालय मात्र हाम्रो हो भन्ने भावना हटाई सबै विद्यालयको समान दायित्व बहन गर्न पालिका प्रशासन इमानदार हुनुपर्छ ।

(२०८० चैत २५ गते आयोजना गरिएको कार्यक्रममा हेटौँडा–१ स्थित अमर माध्यमिक विद्यालयको योजना प्रस्तुती कार्यक्रममा प्रधानाध्यापक मालती उप्रेतीले प्रस्तुत गर्नुभएको विवरणको सम्पादित अंश)