बैठकका क्रममा खिचिएको तस्वीर ।

हेटौंडाः राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको छ । बुधबार त्रिपुरेश्वरस्थित राखेपको कार्यालयमा अध्यक्ष टंकलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले प्रतियोगितालाई प्रभावकारी बनाउने विषयमा छलफल गरेको हो ।

बैठकले खेलाडी छनोट प्रदेश टिमको तयारी, खेल तथा खेलाडी संख्या, ट्रफी टुर, अनलाइन खेलाडी दर्ता फारम, खेल पोशाक, किट्स ब्याग, खेलाडी बिमा, मेडिकल टिमको बसोबास, स्थानीय यातायात, खेलस्थल, खेल सामग्री, खेल सञ्चालन सम्बन्धमा छलफल गरेको छ । बैठकले वृहत् राष्ट्रिय खेलकुद सम्पन्न भएपछि प्रथम पारा राष्ट्रिय खेलकुद आयोजनाको विषयमा पनि छलफल गरेको जनाइएको छ । बैठकमा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीलगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

बैठकमा प्रदेश खेलकुद विकास बोर्ड कोशीका सदस्यसचिव हंशराज वाग्ले, प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्यसचिव भण्डारी, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्मा, प्रदेश खेलकुद विकास परिषद् सुदूरपश्चिमका सदस्यसचिव दीपक सिंह, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्याल, राखेप कार्यकारी समितिकी सदस्य नन्दा बस्याल, राखेपका सदस्य प्रकाशकुमारी कुसारी, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेल, आर्थिक प्रशासन शाखाका प्रमुख ऋषिराम पोखरेल, बजेट तथा योजना शाखाका प्रमुख पासाङ फिन्जी शेर्पालगतालगायतको उपस्थिति रहेको थियो ।