बल अघि बढाउने प्रयास गर्दै मकवानपुरका खेलाडी ।

सिमराः सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब सिमरामा जारी जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनल प्रवेश गरको छ । सिमरा रङ्गशालामा सोमबार राती भएको दोश्रो क्वाटरफाइनलमा मकवानपुर–११ लाई २–० गोलअन्तरले पाखा लगाउँदै एपिएफले अन्तिम चारको यात्रा तय गरेको हो । एपिएफको जीतमा विके तामाङ र प्रदिप लामाले एक–एक गोल गरे ।

मकवानपुरविरुद्ध शुरुदेखि नै आक्रामक खेल खेलेको एपिएफका लागि खेलको ३० औं मिनटमा विके तामाङ्गले गोल गर्दै अग्रता दिलाएका थिए । विश्वास उदासको क्रस बल सम्हाल्दै मकवानपुरका डिफेण्डर बिट गर्न सफल बिकेले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । पहिलो हाफ आफ्नो पक्षमा पार्न सफल एपिएफले खेलको ६८ औं मिनेटमा अग्रता दोब्बर बनायो । एपिएफका प्रदिप लामाले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । सुमन श्रेष्ठले प्रहार गरेको कर्नर बललाई डिबक्स भित्र सम्हाल्दै लामाले आकर्षक गोल गरेका थिए ।

दोश्रो हाफमा एपिएएफ विरुद्ध केहि राम्रा अवसर बनाएर पनि फिनिसिङमा चुक्दा मकवानपुरको टोली प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । एपिएफका गोलरक्षक एन्जल श्रेष्ठले मकवानपुरका उत्कृष्ट प्रहारहरु विफल पारेका थिए । म्यान अफ दि म्याच एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ घोषित भए । उनले १० हजार नगद र ट्रफि प्राप्त गरे । म्यान अफ दि म्याच श्रेष्ठलाई आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख कर अधिकृत राजकुमार खतिवडा र शुभारम्भ कलेज अफ म्यानेज्मेन्टका अध्यक्ष लालप्रसाद पुडासैनीले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिता अन्तर्गत मंगलबार दुई ‘ए’ डिभिजन टोली त्रिभूवन आर्मी र मच्छिन्द्र फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । बीरगञ्जलाई हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको आर्मी विरुद्ध बिराट गोल्डकपको उपाधि लिएर बिराटनगरबाट सिमरा आएको मच्छिन्द्र क्लबसिधै सेमीफाइनल प्रवेशका लागि खेल्नेछ ।