हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य रामहरि न्यौपानेले राज्यका हरेक प्रमुख अंगहरु भ्रष्ट, असक्षम र दूषित राजनीतिको शिकार भएको बताउनुभएको छ । आइतबार राप्रपा मकवानपुर जिल्ला कमिटी र नगर कमिटीको संयुक्त अयोजनामा भएको भ्रष्टाचार व्यवस्थाविरुद्धको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै केन्द्रीय सदस्य न्यौपानेले भ्रष्टाचारको अन्त्य गरेर शिक्षा, स्वास्थ्यको निःशुल्क व्यवस्था गर्न माग गर्दा पनि कसैले वास्ता नगरेको बताउनुभयो ।

राज्यका प्रमुख आधारशीलाहरू न्यायालय, प्रशासन, प्रहरी, संवैधानिक निकाय, विद्यालय, विश्वविद्यालय, सबै नकारात्मक राज्यतिर धकेलिरहेको न्यौपानेले बताउनुभयो । वि.स. २०४६ सालमा ६५ प्रतिशत वित्तप्य खर्च हुने गरेकोमा हाल ३८ प्रतिशतले घट्दै गएको उहाँले बताउनुभयो ।

अहिले देशको भविष्यप्रति कुनै नागरिक विश्वस्त नभएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ३० लाख नेपाली जनताले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको बताउनुहुँदै औपचारिक र अनौपचारिकरूपमा महिनामा एक लाख नेपालीहरूले देश छाड्ने गरेको उहाँले बताउनुभयो ।

देशमा युवा जनशक्तिहरु विदेशिने क्रम बढ्दै गएको उहाँले दावी गर्नुभएको छ । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याजले साना किसान तथा व्यवसायीलाई पीडा दिइहरेको उहाँले बताउनुभयो । व्यापारीहरुमा निराशा बढिरहेका कारण युवाहरु बाहिरी मुलुकमा जाने क्रम बढिरहेको भन्दै देश भित्रभित्रै कमजोर बन्दै गएको उहाँले बताउनुभयो ।

देश बनाउने भन्दा पनि बचाउने अभियानमा सबै नेपाली जनताहरु लाग्नुपर्ने उहाँले बताउनुभयो । मुलुकको अवस्था खस्कँदै गएको कुरालाई मध्यनजर गरेर राष्ट्रियतालाई सर्वोपरी साध्य, प्रजातन्त्रलाई अपरिहार्य आधार, राजसंस्थालाई राष्ट्रिय एकताको प्रतीक, सनातन हिन्दू धर्मलाई धार्मिक सहिष्णुता, सामाजिक सौहार्दताको जग, उदार अर्थतन्त्रलाई कल्याणकारी राज्य, समतामूलक समृद्धिको मेरुदण्डमार्फत् मुलुकलाई निकास दिन राप्रपाले माग गर्दा पनि सरकारले माग पूरा नगरेकाले मंगलबार काठमाडौंमा शन्तिपूर्ण आन्दोलन गर्न लागेको बताउनुभयो । आम जनताको समस्याहरुलाई मध्यनजर गरेर प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र पेश गरेको उहाँले बताउनुभयो ।

मंगलबार हुने शान्तिपूर्ण आन्दोलनलाई सबल बनाउन राप्रपा मकवानपुरले आइतबार हेटौंडामा र्याली गरेको थियो । पार्टी कार्यालयबाट सुरु भएको मोटरसाइकल र्याली सानोपोखरा, ओमभवन, शितलमहल चोक, बसपार्क, एसपी कार्यालय र लोकप्रिय चोक हुँदै सीमाचोकमा कोणसभामा परिणत भएको थियो । कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य रामबहादुर थोकर, राप्रपा महिला संगठन केन्द्रीय सचिव सरस्वती केसी र वरिष्ठ नेताहरुको उपस्थिति रहेको थियो ।