सहकारीले उत्पादन गरेको गुन्द्रुक विक्री नभएको भन्दै गुनासो गर्नुहुँदै अध्यक्ष चिनमाया गुरुङ ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले हेटौँडा–१२, घलेगाउँका महिलाहरुले उत्पादन गरेको गुन्द्रुकको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न लागेको बताउनुभएको छ । कञ्चनजंगा कृषि सहकारी संस्था लिमिटेड लघु उद्यमी उद्योगले उत्पादन गरेको गुन्द्रुकको अनुज्ञापत्र उद्यमी महिलालाई हस्तान्तरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख लामाले महिला उद्यमीलाई प्रोत्साहन गर्न, उनीहरुको उत्पादनलाई बजारसम्म पु¥याउन उपमहानगरले प्रयास गरिरहेको बताउनुभयो ।

यता उद्यमी महिलाले भने गुन्द्रुक उत्पादनका लागि उपमहानगरपालिकाले एक लाख रुपैयाँ सहयोगसम्बन्धी सम्झौता भएको करिब ६ महिनापछि मात्रै भुक्तानी पाएको बताएका छन् । सहकारीकी अध्यक्ष चिनमाया गुरुङले नगर प्रमुखलाई सीपमुलक तालिम चाहियो भनेर माग गर्न जाँदा गुन्द्रुक उत्पादन गर्न सुझाव दिनुभएको र नगरप्रमुखकै सुझावअनुसार गुन्द्रुक उत्पादन गरिएको जानकारी दिनुभएको छ । “नगरप्रमुखकै सुझावमा हामीले गुन्द्रुक उत्पादन गर्न सुरु गरेका हौं । हामीले उत्पादन गरेको गुन्द्रुकको बजार सुनिश्चित गरिदिन्छौं भनेर नगरप्रमुखले भन्नुभएको थियो,” अध्यक्ष गुरुङले भन्नुभयो, “हामीले उत्पादन गरेको गुन्द्रुक नबिकेर एउटा कोठामा थुपारेर राखेका छौं । करिब ३ लाख रुपैयाँ बराबरको गुन्द्रुक विक्री नभएर राखिराखेका छौं ।”

भाडामा लिएको १५ कठ्ठा जमिनमा रायोको साग खेती गरेर गुन्द्रुक उत्पादन गरे पनि विक्री नभएको उहाँको गुनासो छ । परम्परागत शैलीमा गुन्द्रुक उत्पादन गरिएको छ । नगरपालिकाले दिने भनेको रकम पनि ढिलो गरी प्राप्त भएको उहाँले बताउनुभयो । “गुन्द्रुक उत्पादनका लागि उपमहानगरले एक लाख रुपैयाँ सहयोग गर्ने भनेर असोजमै सम्झौता भएको हो । कागजी प्रक्रिया नमिलेको भन्दै हामीले २ दिनअघि मात्रै भुक्तानी पाएका छौं । सहकारीमा आवद्ध भएका महिलामध्ये १५ जना महिलाको समूहले करिब ८० हजार रुपैयाँ लागतमा गुन्द्रुक उत्पादन गरेको र हालसम्म एक लाख ५० हजार रुपैयाँ बराबरको गुन्द्रुक विक्री गरेको अध्यक्ष गुरुङले बताउनुभयो ।

रायोको साग उत्पादन हुने मौसम सकिएर अहिले तोरीको सागको गुन्द्रुक बनाउने उद्देश्यले तोरी लगाइएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । यता नगरप्रमुख लामाले राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारमा गुन्द्रुक प्रवद्र्धन गर्ने बताउनुभएको छ । नगरप्रमुखले राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने भन्नुभए पनि त्यसको ढाँचा र सम्भावनाका विषयमा कुनै आधार प्रस्तुत गर्नुभएको छैन । उहाँले हेटौँडाका होटल व्यवसायीलाई गुन्द्रुक किनिदिन आग्रह गर्नुभएको छ । सोमबार बिहान उपमहानगरकै सभाकक्षमा गुन्द्रुक उद्योगले प्राप्त गरेको अनुज्ञापत्र नगरप्रमुख लामाले सहकारीलाई हस्तान्तरण समेत गर्नुभएको छ । अनुज्ञापत्र हस्तान्तरण कार्यक्रममा मकवानपुरका होटल व्यवसायीको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी होटल एसोसिएसन मकवानपुरका अध्यक्ष दिलिश गोविन्द्र जोशीले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न व्यवसायी सहमत भएको जानकारी दिनुभएको छ । हेटौँडा बजार क्षेत्रमा रहेका होटल व्यवसायीले दिनको २ सय ग्राम मात्रै गुन्द्रुक खपत गरिदियो भने पनि महिनाको १२ सय केजी गुन्द्रुक खपत हुने देखिएको अध्यक्ष जोशीले बताउनुभयो । व्यवसायीको मागअनुसार उत्पादन गर्न भने समस्या हुन सक्ने उहाँको भनाइ छ ।

सहकारीले उत्पादन गरेको गुन्द्रुक विक्री नभएको भन्दै गुनासो गर्नुहुँदै अध्यक्ष चिनमाया गुरुङ ।