म्यान अफ द म्याचको ट्रफी ग्रहण गर्दै सिराहाका शिशिर लेखी ।

सिमराः साविक विजेता चर्च व्वाईज युनाईटेड क्लबलाई इन्ज्युरी समयमा स्तब्ध पार्दै सलहेश युवा क्लब सिराहा जगदम्बा स्टिल १४ औं जीतपुर–सिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । आइतबार राती सिमरा रङ्गशालामा भएको प्रतिष्पर्धात्मक खेलको अन्तिम समयमा गोल गर्दै सिराहाले ‘ए’ डिभिजन क्लब चर्च व्वाईज विरुद्ध रोमाञ्चक जित दर्ता गर्यो। खेलको १४ औं मिनटमा सिराहाका लागि आशिष चापागाईले गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफ आफ्नो पक्षमा पारेको सिराहा विरुद्ध चर्च व्वाईजले खेलको ५१ औं मिनटमा बराबरी गोल गर्यो । चर्च व्वाईजका राजेश परियारले बराबरी गोल गर्दै टिमलाई खेलमा फर्काए पनि केहिबेरमै आत्मघाती गोलका कारण चर्च व्वाईज पुनः २–१ गोलअन्तरले पछाडी पर्यो । चर्च ब्वाईजका डिफेण्डर एकराज बुढाथोकीले बल क्लिएर गर्न खोज्दा गरेको गल्तीले बल गोलमा परिणत भएको थियो ।

अनुभवी खेलाडीले भरिएको चर्च व्वाईजले पनि आत्मघाती गोलको फाईदा लिँदै बराबरी गर्यो । खेलको ७३ औं मिनटमा सिराहाका कप्तान कुलदीप कार्कीले गोल लाईनबाट क्लिएर गर्न खोजेको बल गोलमा परिणत हुँदा चर्च व्वाईज खेलमा फर्किएको थियो । खेलको अन्तिम समयमा बराबरी गोल भएपछि चर्च व्वाईजको समर्थनमा रहेका दर्शकको हुटिङ स्मरणीय थियो ।

अन्तिम समयमा भएको बराबरीपछि निर्धारित समयमै खेल आफ्नो पक्षमा पार्न दुबै टिमले आक्रामक खेल खेलेका थिए । तर इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गर्दै सिराहाले चर्च व्वाईजलाई स्तब्ध बनायो । सिराहाका लागि शिशिर लेखीले दोश्रो हाफको ५ मिनेटको इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरेका थिए । केहि सेकेण्ड बाँकी छँदा गोल भएपछि सिराहाका प्रशिक्षक राजिवकुमार यादव उत्साहित हुँदै मैदानभित्रै प्रवेश गरेका थिए ।

म्यान अफ दि म्याच सिराहाका शिशिर लेखी घोषित भए । उनले १० हजार नगदसहित ट्रफि प्राप्त गरे । शुभारम्भ कलेज अफ म्यानेज्मेन्ट सिमराका प्रमुख शम्भु मण्डलले उनलाई पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताअन्तर्गत आज सोमबार सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब र मकवानपुर–११ हेटौंडा बिच खेल हुनेछ ।