गुगल तस्विर ।

हेटौँडाः विभिन्न घटनामा एकै दिन एक विदेशी नागरिकसहित ४ जनाको मृत्यु भएको छ । प्रदेशको दोलखा, रसुवा र चितवनमा एकैदिन ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका–२, पुटिस्याङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कालिन्चोक गाउँपालिका–२, बाबरे बस्ने ३६ वर्षीया सन्चीमाया थामीको ट्याकटरले थिचेर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार बिहान १० बजेको समयमा पुटिस्याङबाट सिंगटीतर्फ जाँदै गरेको लु ३ त १७१४ नम्बरको खाली ट्याक्टर सडकबाट ३५ मिटर तल खेतमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी ४ जना घाइते भएका छन् । घाइतेको धुलिखेल शाखा अस्पताल दोलखामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । ट्रयाक्टर चालक गौरीशंकर गाउँपालिका–५ बस्ने २२ वर्षीय अबराम थामीलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–४ मा बिदेशी नागरिकको मृत्यु भएको छ । मृतक अन्दाजी ६७ वर्षीय पौउल रहेको प्रहरीले जानकारी दिएको छ । पौउल बिहीबार कादुरी ट्रेकिङ एजेन्सी पोखरा मार्फत रसुवा जिल्ला आएकोमा शुक्रबार गोसाईकुण्ड लाङटाङ ट्रेकिङ घुमी फर्कने क्रममा स्याङ्बोचे आईपुग्दा अचानक बेहोस भएका थिए । उपचारका लागि मेडिसिटी अस्पताल काठमाडौ पुर्याइएकोमा साँझ ६ बजेर ३० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६, काभ्रेघाटमा एक जना महिला मृत फेला परेकी छन् । मृत्यु हुनेमा ५६ वर्षीया लिला परियार रहेको प्रहरीले जानकारी दिएको छ । परियार मंगलबार साँझदेखि बेपता भएकोमा शुक्रबार नारायणी नदी किनारमा मृत फेला परेकी थिइन् ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका–३, वडा प्रहरी कार्यालय अगाडि बेवारिसे अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ । बुधबार बिहान ८ बजेको समयमा नाम थर नखुलेको ४२ वर्षीय मागी खाई हिँड्ने बेवारिसे पुरुष व्यक्ति बिरामी भई बसेको अवस्थामा फेला पारी उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । पुरुषको शुक्रबार बिहान ७ बजेर ५० मिनेटको समयमा उपचारको क्रममा मृत्यु भएको थियो । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ ।