शारदा माविलाई उपाधि प्रदान गरिँदै ।

हेटौँडाः मकवानपुर जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि मकवानपुरगढी गाउँपालिकाको आमभञ्ज्याङस्थित शारदा माध्यमिक विद्यालयले जितेको छ । शनिबार सम्पन्न भएको फाइनल खेलमा शारदा माविले मकवानपुरगढी गाउँपालिकाको मक्राञ्चुलीस्थित भानु माध्यमिक विद्यालयलाई २–१ को सेटले हराउँदै उपाधि जितेको हो ।

पहिलो सेट २५–११ ले जितको शारदा मावि दोस्रो सेटमा १९–२५ ले भानु माविसँग पराजित हुनुपरेको थियो । तर, तेस्रो सेटको उपाधि होडमा शारदा माविले भानु माविलाई १५–५ ले पराजित गरेको हो । प्रतियोगिताको उपाधि विजेता शारदा माविले २५ हजार रुपैयाँ र उपविजेता भानु माविले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट सेटर शारदा माविकै रामचन्द्र छत्कुली र उत्कृष्ट स्पाइकर भानु माविका सुमन थिङ घोषित हुँदै २–२ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

शनिबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा हेटौँडा–५ स्थित जीएस निकेतनलाई २–० को सोझो सेटले हराउँदै शारदा माविले फाइनलको यात्रा तय गरेको थियो । यस्तै, हेटौँडा–४ स्थित हेटौँडा क्याम्पसलाई २–० को सोझो सेटले हराउँदै भानु माविले फाइनलको यात्रा तय गरेको थियो । सेमिफाइनलमा पराजित हुने जीएस निकेतन र हेटौंडा क्याम्पसले प्रोत्साहनस्वरुप ५–५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

४ नम्बर वडा शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दहालको सभाध्यक्ष तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै शारदा माविका आशिष घलानले ३ हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना, शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापन तथा हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको सह–व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको थियो । आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका खेलकुद शिक्षक राजाराम पोखरेलको संयोजकत्वमा भएको प्रतियोगितामा संस्थागत र सामुदायिक गरी १६ वटा विद्यालयको सहभागिता रहेको थियो । पुरस्कार वितरण कार्यक्रममा वडा–४ का अध्यक्ष नवीन सिग्देलको पनि आतिथ्य रहेको थियो ।