शिक्षा प्राप्त गर्नु बालबालिकाको नैसर्गिक अधिकार हो । सिक्ने र सिकाउने एउटा यस्तो जीवनपर्यन्त प्रक्रिया हो जुन जन्मदेखि मृत्युसम्म नै चलिरहन्छ । तथापी आफ्नो देश, काल र परिस्थितिअनुसार औपचारिक शिक्षालाई हरेक देशले एउटा निश्चित पाठ्यक्रमभित्र समाहित गर्ने गरेको पाइन्छ । एउटा निश्चित पाठ्यक्रम भित्र रहेर दिइने औपचारिक शिक्षाको जिम्मेवारी विद्यालयलाई दिने गरिन्छ । एउटा बालक जन्मेको लगभग ४ देखि ५ वर्षबाट उसको औपचारिक शिक्षाको सुरुवात हुनु पर्दछ । तर आज हामीले व्यस्तताको नाममा आफ्ना बालबालिकालाई कलिलै उमेरमा विद्यालय पठाई औपचारिक शिक्षाको सुरुवात गर्ने गरेका छौं ।

बाल मनोविज्ञानलाई बुझेर उमेर अनुसारको सिकाइ हाँसिल गराउनु निकै चुनौतीपूर्ण कार्य हो । भर्खरै आफ्नो मातृभाषामा अनौपचारिकरूपमा सिकाइ सुरु गर्दै गरेको बालकलाई हामीले विद्यालयमा पाठ्यक्रमको निश्चित दायरा भित्र राष्ट्रिय र अन्तर्राष्ट्रिय भाषाको माध्यमबाट सिकाउन खोज्दा उसमा द्विविधा उत्पन्न हुनु स्वभाविक हो । नेपालको संविधानले प्राथमिक तहसम्मको शिक्षालाई मातृभाषामै पढाउने अनुमति दिएको भए तापनि पर्याप्त मानवस्रोत र साधनको अभावमा यसलाई व्यवहारमा उतार्न सकिएको पाइँदैन । शिक्षा बालबालिकामा भएको अन्तरनिहित प्रतिभालाई प्रस्फुटित गर्दै उनीहरुमा सकारात्मक परिवर्तन गराउनको निम्ति अपरिहार्य छ । तर आज बालबालिकालाई सानै उमेरदेखि दिइएको किताब र कापीको त्यो बोझिलो भारीले बालमस्तिष्कलाई नै थिच्दै गएको अनुभव हुन थालेको छ ।

राष्ट्रियस्तरमै पाठ्यक्रमलाई एकरूपता दिनका लागि पाठ्यक्रम विकास केन्द्रले बालबालिकाहरूको कक्षागत र उमेरगत निश्चित पाठ्यक्रम तयार गरेको भए तापनि हामीले विभिन्न बाहानामा बालबालिकाको थप सिकाइको नाममा पाठ्य सामग्रीहरू थप्दै उनीहरूको किताबको भारीलाई अझै गह्रुङ्गो बनाउँदै लगेका छौं । यसरी त्यो सानो मस्तिष्कमाथि थुपारिएको गह्रुङ्गो भारीले सानो उमेरदेखि नै उनीहरुलाई सिकाइप्रति नै वितृष्णा हुन थालिसकेको हुन्छ । सिकाइले बालबालिकाको मानसिक विकासलाई जोड दिँदै उनीहरुमा उत्सुकता जगाउनुको पर्नेमा हामीले उनीहरूलाई जबरजस्ती घोकाएर बढी अङ्क प्राप्त गर्ने प्रतिस्पर्धामा होमिदिने गरेका छौं । शिक्षण सिकाइको समग्र प्रणालीलाई नै सुधार गरेर शैक्षिक गुणस्तर वृद्धि गर्नुको साटो हामी आज पनि बालबालिकाको सिकाइलाई परीक्षामुखी बनाउन बाध्य भएका छौं ।

सानै उमेरदेखि हरेक कार्यमा प्रविधिको प्रयोग गर्न अब्बल हाम्रा बालबालिका विद्यालयमा पनि प्रविधिबाटै सिक्न चाहन्छन् तर आवश्यक उपकरणको र दक्ष जनशक्तिको अभावमा हामी बालबालिकालाई परम्परागत शैलीमै सिकाउन बाध्य छौँ । जसको कारण बालबालिकाहरु सिकाइमा कमउत्सुक हुने गरेको पाइन्छ । त्यसैगरी सिकाइको निम्ति आवश्यक सामग्री तथा पूर्वाधारहरूको समयमै व्यवस्थापन गर्न नसक्नुले पनि ठूलो चुनौती थपेको छ भने पर्याप्त अध्ययन र अनुसन्धान बिना नै शिक्षामा लागु गरिने विभिन्न नीति तथा योजनाहरूले पनि बालबालिकाहरू निकै अलमलमा परेका पाइन्छ ।

शिक्षण सिकाइमा प्रयोग गरिएका उदार कक्षोन्नतिको नीति, लेटर ग्रेडिङ्ग पद्दतिहरुलाई सही तरिकाले प्रयोग गर्न नसक्नु पनि बालबालिकाको सिकाइमा असर पार्ने एउटा प्रमुख कारण बनेको छ । माध्यमिक तहको परीक्षामा समेत न्यून अङ्क प्राप्त हुँदा मात्र पनि उत्तीर्ण हुने प्रावधान बनाइनु र उक्त प्रावधानलाई छोटो समयमै परिवर्तन गर्दै उत्तीर्ण हुनको निम्ति पुनः न्युनतम अङ्क प्राप्त गर्नैपर्ने प्रावधानका कारण धेरै बालबालिकाहरू आज निकै अलमलमा परेका छन् ।

केही बर्ष अगाडि मात्रै कोरोना महामारी तथा अन्य विविध कारणले सिकाइमा ठूलो क्षति व्यहोर्न पुगेका बालबालिकाका लागि पाठ्यक्रम र परीक्षा प्रणालीमा आएको यो परिवर्तनले माध्यमिक तहमा अध्ययनरत बालबालिकामा आज निकै निराश बनेका छन् । जसोतसो कक्षा १२ सम्मको अध्ययन सकेर विदेशीने योजना बनाएका बालबालिकाका लागि शैक्षिक सुधारको नाममा आएको यो नयाँ नीतिले थप चुनौती सृजना गरेको छ । शिक्षण सिकाइले बालबालिकाको अन्तरनिहित प्रतिभालाई प्रस्फुटित गर्नुको साटो उनीहरुलाई जबरजस्ती प्रतिस्पर्धामा उतार्दा आज शिक्षण सिकाइ नै एउटा ठूलो बाधकको रूपमा देखिन थालिसकेको छ । गुणस्तर सुधारको नाममा सम्भावित परिणामलाई अध्ययन नै नगरी गरिएको यो निर्णय विगतका वर्षहरुमा जस्तै अन्तिम समयमा गएर परिमार्जन गर्नुपर्ने त होईन ?

राष्ट्रियस्तरमा गरिएका निर्णयहरु पनि पटक–पटक परिमार्जन गरिरहँदा अबका योजनाहरू माथिको विश्वनीयतामा कस्तो असर पर्ला त ? शिक्षा जस्तो संवेदनशील क्षेत्रमा पनि गहिरो अध्ययन र अनुसन्धानको अभावमा वर्षैपिच्छे फेरिने यस्ता निर्णयहरूले बालबालिकाको सिकाइलाई सम्बोधन गर्न सक्ला त ?

आज यो विषय हरेक अभिभावक तथा विद्यालयको निम्ति समेत अत्यन्तै चिन्ताजनक बन्न गएको छ । शिक्षामा भएको बेथितिलाई अन्त्य गरी गुणस्तर सुधार गर्न दिगो योजना बनाउनुको साटो परीक्षा प्रणालीमा मात्रै परिवर्तन गर्नाले बालिकाको सिकाइमा निकै असर पर्ने देखिन्छ । सम्भावित नतिजाको आँकलन गर्दै आज हरेक विद्यालयहरुले बालबालिकामा गरेको अस्वस्थ प्रतिस्पर्धाले उनीहरूको मानसपटलमा समेत निकै गम्भीर असर पुग्ने देखिन्छ । शिक्षाको गुणस्तर यो अवस्थामा पुग्नुको दोषी के बालबालिका मात्रै होलान् त ? विधेयकको रूपमा छलफल हुँदै गरेको अब बन्ने शिक्षा ऐनले यस्ता समस्याको सम्बोधन गर्न सक्ला त ? प्रश्नहरु धेरै उब्जिसकेका छन् ।

कतिपय देशहरूले बिना पाठ्यक्रम नै आफ्ना बालबालिकाहरुको सिकाइमा व्यापक सुधार गरिसक्दा हामी भने आज पनि पाठ्यपुस्तक रटाउनमै व्यस्त देखिन्छौं । राष्ट्रियस्तरबाट शिक्षाको गुणस्तर सुधारको प्रयास हुनु राम्रो पक्ष हो तर पर्याप्त अध्ययन र अनुसन्धान नै नगरी परिक्षणको रुपमा लागू गरिने शैक्षिक योजनाहरूले बालबालिकाको सिकाइमा ठुलो असर पार्ने भएकोले यस्ता योजना निर्माण गर्दा निकै ध्यान पु¥याउनु पर्ने देखिन्छ ।
(प्रधानाध्यापक, बालजागृति युवा बर्ष मावि, हेटौँडा–६)