विज्ञान प्रदर्शनीको अवलोकन गरिँदै ।

हेटौँडाः मकवानपुर जिल्लामा सरकारी र निजी गरी पाँच सय ८४ वटा विद्यालय छन् । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले आयोजना गरेको विज्ञान प्रदर्शनीमा एउटा सरकारी एउटा निजी विद्यालय गरी जम्मा दुईवटा मात्रै विद्यालय सहभागी भएका छन् । हेटौँडा–२ स्थित सिद्धार्थ माविको हलमा बुधबार भएको जिल्लास्तरीय विज्ञान प्रदर्शनीमा सहभागी हुन सबै विद्यालयलाई निमन्त्रणा गरेपनि २ वटा विद्यालय मात्रै सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरकी अधिकृत उन्नति ढकालले बताउनुभएको छ ।

हेटौँडा–२ स्थित बालजागृति इंग्लिस बोर्डिङ र ईन्द्रसरोवर गाउँपालिकाबाट महाचुनी मावि मात्रै प्रतियोगितामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरकी शाखा अधिकृत उन्नति ढकालले जानकारी दिनुभयो । प्रतियोगितामा बालजागृति इंग्लिस सेकेण्डरी स्कूल प्रथम भएको छ भने महाचुनी मावि द्वितीय भएको छ । प्रथम हुने बालजागृतिले ५ हजार रुपैयाँ र द्वितीय हुने महाचुनी माविले ३ हजार रुपैयाँ नगद राशी पुरस्कार पाएको शाखा अधिकृत ढकालले जानकारी दिनुभयो । प्रथम हुने विद्यालय प्रदेशस्तरीय प्रतियोगितामा समेत सहभागी हुनेछ ।
पालिकास्तरीय प्रतियोगिता आयोजना गरेर जिल्लास्तरीय प्रतियोगिता हुनुपर्नेमा पालिकास्तरीय प्रतियोगिता नै नहुनुले न्यून सहभागिता रहेको विज्ञान शिक्षक समाज मकवानपुरका अध्यक्ष खेमराज लामिछानेले बताउनुभएको छ ।

समन्वय इकाईले पर्याप्त समन्वय गर्न नसक्नु र पालिकाको शिक्षा महाशाखा, शाखाले पनि आवश्यक समन्वय र पालिकास्तरीय प्रतियोगिता गर्न नसक्नुले कम सहभागिता रहेको उहाँको भनाइ छ । गत वर्ष विज्ञान शिक्षक समाजकै सल्लाहअनुसार पालिकास्तरीय प्रतियोगितापछि जिल्लास्तरीय प्रतियोगिता आयोजना गर्ने भनिए पनि यस पटक पालिकास्तरीय प्रतियोगिता हुँदा लामिछानेले आफूलाई पनि जानकारी नभएको दावी गर्नुभयो ।
कार्यक्रमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख हरिचन्द्र सापकोटाको पनि आतिथ्य रहेको थियो ।