मुलुकमा सार्वजनिक संरचनाको विकास निर्माणको अवस्था निराशाजनक बनिरहेको छ । सडक, पुल, खानेपानी, विद्युत्, सिंचाई, भवनलगायत सबै प्रकारका पूर्वाधार निर्माणको काम निर्धारित समयमा सम्पन्न नहुँदा धेरै समस्या हुने गरेको छ । समयमै काम नहुँदा विकास बजेट फ्रिज हुनुका साथै निर्माण लागत वृद्धि हुने गरेको छ । समयमा काम नगरी अन्तिममा हतारहतार काम गर्दा कुनै पनि योजना दिगो र प्रभावकारी बन्न सकिरहेको छैन । विकासको यस्तो उल्टो मोडेलले धेरै आयोजनाहरु निर्माण सम्पन्न नहुँदै धराशायी र शिथिल बन्ने गरेको थुप्रै उदाहरणहरु छन् । एकदेखि दुई वर्षसम्म निर्माण सम्पन्न हुनुपर्ने साना तथा मझौला विकास निर्माणका कामहरु चार–पाँच वर्षसम्म पनि पूरा नहुने अवस्थाले आम नागरिकलाई पनि विभिन्न बाधा परिरहेको छ । तीन–चार वर्षमा सम्पन्न गर्नुपर्ने ठूला स्तरका पूर्वाधार निर्माणको काम दशकौंसम्म पनि सम्पन्न हुन नसक्दा सरकारले अर्बौं रुपैयाँ थप गर्नुपर्ने अवस्था बनिरहेको छ ।

मकवानपुरको मनहरी गाउँपालिकाको विभिन्न स्थानमा पुल निर्माणको ठेक्का लिएको कम्पनीले समयमा काम नगरेपछि ५ राजनीतिक दलले विरोधस्वरुप बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको तस्वीरसहित ब्यानर राखेपछि त्यसले चर्चा पाइरहेको छ । मनहरी गाउँपालिकामा पुलको ठेक्का लिएर समयमा काम सम्पन्न नगरेको भन्दै नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले बानियाँको फोटोसहितको ब्यानर राखेर शुक्रबार बिरोध प्रदर्शन गरेका हुन् । बिरोधको क्रममा प्रदेशसभा सदस्य बानियाँसहित अन्य २ जनाको तस्वीरसहितको ब्यानर राखिएपछि उक्त ठेक्कामा आफ्नो कुनै संलग्नता नरहेको बानियाँले प्रष्ट पारेका छन् । नाताले भतिज पर्नेहरुले लिएको ठेक्काका विषयमा आफ्नो फोटो राखेकोमा बानियाँले आपत्ति जनाएका हुन् । मनहरी गाउँपालिकाभित्रका ४ वटा पुल निर्माण गर्ने जिम्मेवारी पाएको हिराचन÷बानियाँ जेभी कम्पनीमा आफू कानुनीरुपले संलग्न नरहेको बानियाँको दाबी छ ।

पुल निर्माणको ठेक्का लिएर तोकिएको समयमा काम सम्पन्न नभएपछि त्यसको बिरोध हुनु स्वभाविक हो । समयमै पुल निर्माण गर्न दबाब दिने उद्देश्यले गरिएको बिरोधका क्रममा ब्यानरमा सांसद बानियाँको तस्वीर राखेको विषय राजनीतिक दाउपेच होला । यसलाई ब्यानरमा तस्वीर राखेर बिरोध गर्ने राजनीतिक दल र त्यसको भत्र्सना गर्ने र आपत्ति जनाउने दल तथा व्यक्तिहरुले नै जिम्मेवारी लिनुपर्छ, लेलान् । तर, आम नेपालीले बुझ्ने विषय भनेको यति समयभित्र काम सम्पन्न गर्छु भनेर कामको जिम्मा लिएपछि तोकिएको समयमा काम सम्पन्न गर्नुपर्छ । यदि कुनै विशेष कारणवश काम सम्पन्न गर्न बाधा पुगेको भए त्यसको बारेमा सार्वजनिक जानकारी निर्माण कम्पनीले दिनुपर्छ । तोकिएको समयमा काम सम्पन्न नहुनुका उपयुक्त कारणसहित आयोजना निर्माणस्थलमा आयोजनासँग सम्बन्धित निकायका प्रतिनिधि र स्थानीय सरोकारवालालाई सार्वजनिकरुपमा सूचित गरिनुपर्छ । साथै, कहिलेसम्म काम सम्पन्न हुने हो त्यो स्पष्ट पार्नुपर्छ ।

सार्वजनिक विकास निर्माणका कार्यहरु गर्दा कार्यस्थलमा सूचनापाटी टाँस गर्ने गरिन्छ । उक्त सूचनापाटीमा निर्माण हुने आयोजनाको नाम, निर्माण सुरु र सम्पन्न हुने मिति, आयोजनाको लागत, निर्माण कार्य गर्ने व्यक्ति, समिति वा कम्पनीको नामलगायत विवरण हुन्छन् । आयोजना सुरु गर्दा सूचना दिएजस्तै तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि के हुँदैछ भन्ने जानकारी सार्वजनिकरुपमा दिनुपर्छ । अधिकांश विकास निर्माणका काममा ठेकेदार र सम्बन्धित सरकारी निकायबीच हुने कमिसनको खेलका कारण काम समयमै नहुने गरेको आरोप लाग्ने गरेको छ । सार्वजनिक निर्माणको क्षेत्रमा लाग्ने गरेको यस्तो आरोपबाट बच्न आयोजना तोकिएको समयमा पूरा गर्नुपर्छ । उचित कारणबाट आयोजना समयमा निर्माण हुन नसकेको हो भने समयमै त्यसको सार्वजनिक जानकारी दिनुपर्छ । अन्यथा, समयमै काम सम्पन्न गर्न नसक्नेलाई कानुनी कारबाही गर्नुपर्छ ।