हेटौंडा उपमहानगरपालिका ।

हेटौँडाः प्राथमिक तहको शिक्षक दरबन्दी मिलानको निर्णय गर्नुअघि सरोकारवाला र सम्बन्धित विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षसँग आवश्यक समन्वय नगरेको हेटौँडा उपमहानगरपालिकाको तीव्र आलोचनापछि शिक्षक दबरन्दी मिलानको प्रक्रियालाई पुनर्विचार गर्ने चरणमा पुगेको छ ।

शुक्रबार बिहान नगरप्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, सामाजिक विकास समितिका संयोजक रामकृष्ण कोइराला, शिक्षा विकास महाशाखाका प्रमुख हरिचन्द्र सापकोटा र उपमहानगरको विज्ञ सल्लाहकार कृष्ण धितालसँग शिक्षक महासंघ र विभिन्न शिक्षक संगठनका प्रतिनिधिले वार्ता गरेका थिए । शिक्षक महासंघ र संगठनका नेतृत्वले नगरप्रमुखसँग मात्रै वार्ता गर्ने अडानपछि नगरप्रमुख, उपप्रमुखसहित पाँचैजनासँग छलफल भएको शिक्षक संगठनका एक नेताले जानकारी दिनुभयो ।

“दरबन्दी मिलानको विषयमा सरोकावालासँग समन्वय र सल्लाह नै नभएको सन्दर्भमा पालिकाको निर्णयको तीव्र आलोचना भयो । आलोचनापछि पालिकाको तर्फबाट पहल भएपछि शुक्रबार बिहान पालिकाका शीर्ष पाँचजनासँग बसेर कुराकानी ग¥यौं”, शिक्षक नेताले भन्नुभयो, “दरबन्दी मिलानसम्बन्धी एकलौटी निर्णय पुनरावलोकन हुने निश्चित भएपछि मात्रै वार्तामा बस्ने शर्तमा सहमतिपछि शुक्रबार बिहान बसेका हौं ।” शुक्रबारको छलफलबाट उपमहानगरको सामाजिक विकास समितिका संयोजक रामकृष्ण कोइरालाको संयोजकत्वमा शिक्षक महासंघको नगर अध्यक्ष र विभिन्न संगठनका नेतृत्वको सहभागितामा कार्यदल गठन भएको छ ।

फागुन महिनाभित्र दरबन्दी मिलानको प्रक्रियालाई निश्कर्षमा पु¥याउने गरी छलफल सुरु गरिएको बताइएको छ । शनिबार साँझ पनि कार्यदलको बैठक बसेको बताइएको छ । हेटौँडा उपमहानगरपालिकाले नगर शिक्षा समितिको गत असोज १२ गतेको निर्णयअनुसार प्राथमिक तहको शिक्षक दरबन्दी मिलान गर्ने निर्णय गत माघ १९ गते प्रधानाध्यापकहरुको सामाजिक सञ्जालको समूहमा सार्वजनिक गरेको थियो । शिक्षकको दरबन्दी मिलानको विषयमा सरोकारवालासँग छलफल नभएको र आमरुपमा जानकारी नभएको भनी आलोचना हुँदा नगरप्रमुख मीना कुमारी लामाले सरोकारवाला र शिक्षक संगठनसँग छलफलको आवश्यकता नै नभएको जीकिर गर्नुभएको थियो । सम्बन्धित विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरुको तीव्र आलोचनापछि नगरप्रमुख निर्णयबाट पछि हट्दै सरोकारवालासँग छलफलमा आउनुभएको हो ।