फापरबारी (बागमती)ः पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा आयोजना भएको छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधी मच्छिन्द्र फुटबल क्लबले जितेको छ । बिहिबार बागमती–८ स्थित जनता माविको खेलमैदानमा भएको फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ४–० गोलअन्तरले हराउँदै मछिन्द्रले उपाधी जितेको हो ।
मच्छिन्द्रको जीतमा विदेशी खेलाडी क्रिष्टोफर चिजोवाले दुई र करिमले एक गोल गरे । खेलको १४ औं मिनेटमा करिमले गोल गर्दै मच्छिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै चिजोवाले खेलको दोस्रो हाफको १२ औं मिनेटमा र १८ औं मिनेटमा गोल गरे । मच्छिन्द्रले एक गोल भने आत्मघाती उपहार पाएको हो । खेलको दोस्रो हाफको १७ औं मिनेटमा विदेशी खेलाडी स्टेफेन समीरको प्रहार एपीएफका डिफेन्डर कुलदीप कार्कीले आत्मघाती गोल गर्न पुगे । उपाधिसँगै मच्छिन्द्रले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टिमले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मच्छिन्द्रका उत्सव राई घोषित भए । उनले १ लाख १ हजार रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका प्रदीप भण्डारी, डिफेण्डर एपीएफका कुलदीप कार्की, मिडफिल्डर विशाल तामाङ, फरवार्ड मच्छिन्द्रका हिसुव थपलिया र प्रशिक्षक मच्छिन्द्रका सन्तोष न्यौपाने घोषित भए । विधागत उत्कृष्ट सबैले २५–२५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगिताको अवसरमा आयोजकले समृद्ध समाज राष्ट्रिय दैनिकका सञ्चारकर्मी रविन्द्र वाईबालाई उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । वाईबालाई १५ हजार रुपैयाँसहित सम्मान गरेको हो । यस्तै रेडियो झुरझुरका विवेक सिन्तान, बागमती सन्देशका आशिष बल, गोल नेपालका विक्रम बानियाँ र अनिरुद्ध खबरका अनिल पराजुलीलाई पनि सम्मान गरिएको छ ।
बागमती गाउँपालिकाको खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठको सभाध्यक्षतामा भएको प्रतियोगिता समापन कार्यक्रममा बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तान, बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, नेपाल खेलकुद महासंघका सचीव किरण राई र बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान लगायतको आतिथ्यता रहेको थियो ।