हेटौँडाः हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिकाको कार्यालय अगाडि नै छ । तर, सिद्धार्थ माविले एउटा सिफारिसपत्र प्राप्त गर्न नसकेको ४ महिनाभन्दा बढी भएको छ । कर्मचारीको गैरजिम्मेवारीपना र नगरप्रमुखको अनावश्यक हस्तक्षेपका कारण पालिका अगाडिकै सिद्धार्थ माविले शिक्षक सरुवासम्बन्धी सिफारिस पाउन नसकेको हो । पालिकाको असहयोगकै कारण सिद्धार्थ माविमा ४ महिना यता ३ जना शिक्षकको दरबन्दी रिक्त छ ।
बुधबार सिद्धार्थ मावि व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरे र सदस्य रामचन्द्र बर्तौला उपमहानगरको शिक्षा महाशाखा प्रमुखसँग सिफारिस पाउन नसकेको भन्दै गुनासो गर्दै हुनुहुन्थ्यो भने महाशाखा प्रमुख हरिचन्द्र सापकोटा नगरप्रमुखको आदेशअनुसार सिफारिस नलेखिएको बताउँदै हुनुहुन्थ्यो । गत कात्तिक ३ गते प्राथमिक तहका शिक्षक शम्भु घर्तीको अनिवार्य अवकास भएपछि रिक्त भएको दरबन्दीमा सरुवा भएर आउन चाहने शिक्षकका लागि पालिकाले विद्यालयको पत्र प्राप्त भएपनि शिक्षा विकास तथा समन्वय इकाईका लागि सिफारिस लेखिदिनुपर्ने व्यवस्था छ ।
सिद्धार्थ माविकी शिक्षक धनकुमारी गुरुङले माघ २ गते र बासु भण्डारीले माघ ७ गते स्वेच्छिक अवकास लिनुभएपछि सिद्धार्थ माविमा ३ जना प्रावि तहको दरबन्दी रिक्त छ । दरबन्दी रिक्त रहिरहँदा नियमित पठनपाठनका लागि जनशक्तिको अभाव भइरहेको उल्लेख गर्नुहुँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेले भन्नुभयो, “पालिकाले साह्रै असहयोग गर्यो भनेर प्रधानाध्यापकले हामीलाई पठाउनुभयो । हामी त जनताका छोराछोरी पढाउन समस्या भयो भन्दै यहाँ गुहार माग्न आइपुग्यौं ।” “नगरप्रमुखले नै भन्नुभएको उम्मेद्वार पनि आउनुभएन, यता सिफारिस पनि पाइएन । कस्तो समस्या हो यो ?” घिमिरेले भन्नुभयो ।
कक्षा १२ सम्म पठनपाठन हुने सिद्धार्थ माविमा दुइ हजार दुइ सय ६७ जना विद्यार्थी अध्ययनरत छन् । सिद्धार्थ माविमा रिक्त रहेको ३ सहित ३६ जना दरबन्दीका शिक्षक छन् भने निजी स्रोतका १४ जना शिक्षक कार्यरत छन् । यस्तै विद्यालयले १२ जना कर्मचारी निजी स्रोतका छन् ।