हेटौँडाः हेटौँडा सामुदायिक आँखा अस्पतालले बिरामीलाई टेलिफोनबाटै टोकन उपलब्ध गराउने भएको छ । विरामीको सहजताका लागि अस्पतालले फागुन १५ गतेदेखि टेलिफोनबाटै टोकन लिन सकिने व्यवस्था गरेको जनाएको छ ।
बिहान साढे ६ बजेदेखि ११ बजेसम्म टेलिफोनबाट टोकन लिन सकिने र साढे १२ बजेसम्ममा विरामीले नाम दर्ता गराइसक्नुपर्ने हेटौँडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिनुभएको छ । अस्पतालले टोकन लिनका लागि मोवाइल नम्बर ९७६७४९०५६७ मा फोन गरेर टोकन लिन सकिने जनाएको छ ।
टोकन लिने समय, टिकट लिने समय र आँखा जाँचका लागि बहिरंग सेवामा लाइन बस्नुपर्ने समय फरक फरक हुँदा सेवाग्राहीले बिहानै आएर कुर्नुपर्ने अथवा पटक–पटक आउजाउ गर्न झन्झटिलो भएको भन्दै सेवाग्राहीले गुनासो गर्दै आएका थिए । टेलिफोनबाटै टोकन लिएपछि टिकट काट्न र बहिरंग सेवामा लाइन बस्न एकैपटकमा सहज हुने अस्पताल प्रशासनको विश्वास छ ।
हेटौँडा सामुदायिक आँखा अस्पतालमा अहिले दैनिक ३ सयदेखि ३ सय ५० जनाले बहिरंग सेवा लिने गरेका छन् । हेटौँडा सामुदायिक आँखा अस्पतालमा एक दिनमा बढीमा ४ सय जनासम्मले बहिरंग सेवा लिएका छन् ।