सांकेतिक तस्वीर ।

हेटौँडाः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवन जिल्लाको राप्ती नगरपालिका–३, झुरझुरेबाट प्रहरीले ५ सय ४४ किलो लागुऔषध गाँजा र ट्रकसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रक चालक धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका–३ का ३२ वर्षीय रमेश नाथ दाहाल र सहचालक कपिलबस्तु जिल्लाको बुद्धभूमि नगरपालिका–४ बस्ने २५ वर्षीय खुसीराम थारू रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सोमबार प्रहरीले रोकी राखेको ना ३ ख ६१२२ नम्बरको ट्रक र ना ३ ख ७२४० नम्बरको डिब्बा ट्रक शंका लागि प्रहरी टोलीले सुरक्षाजाँच गर्र्दा ना ३ ख ७२४० नम्बरको डिब्बा ट्रकको पछाडि भागमा लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा ५ सय ४४ किलो बरामद गरी दुबै ट्रकलाई नियन्त्रणमा लिएको थियो । ना ३ ख ६१२२ ट्रक चालक राप्ती नगरपालिका–३ बस्ने २८ वर्षीय उमेश सुनार फरार रहेकोले खोजतालास भइरहेको प्रहरीले जनाएको छ ।