रक्तदान गर्दै रक्तदाता । फाइल तस्वीर ।

हेटौँडाः रक्त सञ्चार केन्द्र हेटौँडाले माघ महिनामा दुइ सय ५९ युनिट रगत संकलन गरेको छ । केन्द्रले एक महिनामा विभिन्न संघ, संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रमबाट २ सय ३६ जना र केन्द्रमै आएर रक्तदान गर्ने २३ जना रक्तदाताको रगत संकलन गरेको हो ।

माघ महिना केन्द्रको प्राविधिक सहयोगमा १२ वटा संघ, संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको रक्तसञ्चार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो । माघ २ गते पतञ्जली योग समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा १० जनाले रक्तदान गरेका थिए । माघ ५ गते सिद्धार्थ माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रममा १३ जना, माघ ६ गते नेपाल रेड्क्रस सोसाईटि पिप्ले शाखाको आयोजनामा भएको कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए भने माघ ७ गते राक्सिराङ गाउँपालिकास्थित नेपाल रेड्क्रस सोसाईटि, सरिखेत शाखामा भएको कार्यक्रममा २१ जनाले रक्तदान गरेको सापकोटाले बताउनुभयो ।

माघ ९ गते हेटौँडा–८, सशस्त्र प्रहरी बलको आयोजनामा भएको कार्यक्रममा २३ जना, माघ १३ गते सहिद स्मारक विकास समितिले आयोजना गरेको कार्यक्रममा ३३ जना र मकवानपुर घर जग्गा व्यवसायी संघले आयोजना गरेको कार्यक्रममा २१ जना र माघ १६ गते श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको आयोजनामा भएको कार्यक्रममा २२ जनाले रक्तदान गरेको थिए । यस्तै, माघ २५ गते आरएमसी नेपाल प्रालिले आयोजना गरेको कार्यक्रममा २२ जनाले, माघ २७ गते नेपाल मुस्लिम एत्तेहात संगठनले आयोजना गर्दा २६ जनाले र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गर्दा १६ जनाले रक्तदान गरेका थिए । माघ २८ गते हेटौँडा उपमहानगरपालिकाले आयोजनामा गरेको कार्यक्रममा ३० जनाले रक्तदान गरेको सापकोटाले बताउनुभयो ।
केन्द्रले माघ महिनामा २० पोका सेतो रगत बनाई वितरण गरेको छ भने संयुक्तमा २ सय ६८ पोका रगत वितरण गरेको छ । सापकोटाका अनुसार रक्तसञ्चार केन्द्रले सिराहको लहानमा १ सय १० प्रिन्ट रगत पठाएको छ । आहिले केन्द्रमा सबै रगत पर्याप्त मात्रामा रहेको छ । आर्थिक वर्ष २०८०÷०८१ को साउन महिनामा केन्द्रले ३ सय ६२ जना, भदौ महिनामा २ सय ३९ जना, असोज महिनामा ३ सय ४९ जना, कार्तिक महिनामा १ सय ५७ जना, मंसिर महिनामा २ सय ७४ जना र पुस महिनामा २ सय ३९ जनाको रगत संकलन गरेको छ ।