भीमफेदी गाउँपालिकाको भैँसेमा काँसघारीमा आइतबार डँढेलो लागेको दृश्य ।

हेटौंडाः फागुन दोस्रो साता सुरु भएसँगै मकवानपुरका विभिन्न स्थानमा डँढेलो लाग्न सुरु भएको छ । गत साता हेटौँडा–१८, हर्नामाडी र कैलाश गाउँपालिकामा घरमा आगलागी भएको छ । यस वर्ष हिउँदे वर्षा नभएका कारण डँढेलोको जोखिम उच्च छ । यही सातादेखि हेटौँडा आसपासका जंगलमा डँढेलो लाग्न सुरु भएको छ । आइतबार भीमफेदी गाउँपालिकाको भैँसे खोला किनारको काँसघारीमा डँढेलो लागेको थियो भने हेटौँडाको पिप्ले–पोखरा सामुदायिक वन क्षेत्रमा पनि डँढेलो लागेको थियो ।

जाडो मौसम सकिएसँगै बोटबिरुवामा पालुवा फेर्ने समयमा पातहरु जमिनमा झरेर सुकेका हुन्छन्, जमिन सुख्खा भएको हुन्छ, जसले गर्दा बसन्त ऋतुमा आगलागीका घटना बढ्ने गर्दछ । मकवानपुर जिल्लामा आगलागीको विपद् जोखिम न्यूनीकरण गर्न हेटौँडा उपमहानगरपालिकाका बारुणयन्त्रमा भर पर्नुपर्ने अवस्था छ । हेटौँडा उपमहानगरपालिकामा २ वटा वारुणयन्त्र (दमकल) पूर्णरुपमा सञ्चालनमा रहेको छ । उपमहानगपालिकामा ३ वटा वारुणयन्त्र रहेता पनि एउट बिग्रिएको छ । मकवानपुरको थाहा नगरपालिकाले पनि वारुणयन्त्र सञ्चालनमा ल्याएको छ । थाहा नगरपालिकाको वारुणयन्त्रले नगरभित्र मात्र कार्य गर्दै आएरहेको छ भने हेटौंडा उपमहानगरपालिकाले नगरबाहिर पनि कार्य गर्दै आइरहेको छ । वारुणयन्त्रका साथ आगलागीका विपद् जोखिम न्यूनीकरणमा पूर्णरुपमा तयारी अवस्थामा रहेको हेटौंडा उपमहानगरपालिका वातावरण शाखा प्रमुख चन्दा खड्काले जानकारी दिनुभयो ।

विपद् व्यवस्थापनका लागि आवश्यक उपकरणसहित वारुणयन्त्र तयारीमा रहेको बताउँदै खड्काले भन्नुभयो, ‘सहायक सह–इन्चार्जको कमाण्डमा वारुणयन्त्र सञ्चालनमा रहेको छ, आपतको अवस्थामा सक्रियसाथ काम भइरहेको छ ।’ हेटौँडा उपमहानगरमा ३ वटा वारुणयन्त्र रहेकोमा अहिले २ वटामात्रै सञ्चालनमा रहेको भन्दै खड्काले एउटा बिग्रिएर मर्मतको चरणमा रहेको जानकारी दिनुभयो । मर्मतका लागि बाहिरबाट सामग्री ल्याउनुपर्ने भएकाले मर्मतमा केही ढिलाई भएको उहाँको भनाइ छ । यसै वर्षबाट नयाँ वारुणयन्त्र ल्याएर सेवा दिइरहेको वातावरण शाखा प्रमुख खड्काले बताउनुभयो । ‘फागुन लागेसँगै आगलागीका घटना बढ्ने गर्दछ, जसको न्यूनीकरणमा हामी लागि परिरहेको छौँ’, खड्काले भन्नुभयो– ‘गतवर्ष जंगलमा धेरै आगलागी भएकाले हामीले राष्ट्रिय विपद महाशाखाबाट विपद् न्यूनीकरणका सामग्री प्राप्त गरेका छौँ ।’

गत वर्ष (२०७९ सालमा) १ सय ५७ वटा आगलागीका घटना घटेका थिए । उक्त स्थानमा हेटौंडा उपमहानगपालिकाका वारुणयन्त्रले आगो नियन्त्रणमा लिएको थियो । गत वर्ष बैशाखमा १० स्थानमा, जेठमा ६ स्थानमा, असारमा ७ स्थानमा, भदौमा २ स्थानमा, असोजमा ७ स्थानमा, कात्तिकमा ९ स्थानमा, मंसिरमा ७ स्थानमा, पुसमा ९ स्थानमा, माघमा १७ स्थानमा, फागुनमा ४३ स्थानमा र चैतमा ३३ स्थानमा आगलागीका घटना भएका थिए । जसमा वारुणयन्त्रको टोलीले आगो नियन्त्रण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो ।

२०८० साल बैशाखदेखि हालसम्म नगरभित्रका ३० स्थानमा र नगरबाहिरका २७ स्थनमा गरी ५७ वटा आगलागीका घटना भएका छन् । बैशाखमा १७ स्थानमा, जेठमा ४ स्थानमा, असारमा ६ स्थानमा, साउनमा ४ स्थानमा, भदौमा एक स्थानमा, असोजमा ४ स्थानमा, कात्तिकमा ३ स्थानमा, मंसिरमा ४ स्थानमा, पुसमा ११ स्थानमा, माघमा ७ स्थानमा र फागुन महिनामा हालसम्म एक स्थानमा आगलागीका घटना भएका छन् । गत वर्षको तुलनामा यस वर्ष आगलागीका घटना केही घटेको भए पनि आगलागी धेरै हुने समय आउन बाँकी रहेको छ ।

हेटौंडा नगर क्षेत्रमा बाक्लो बस्तीसँगै जंगल धेरै भएकाले आगलागीका घटना बढी हुने गरेको छ । हेटौंडा उपमहानगरपालिकाले ११ जना जनशक्ति वारुणयन्त्र सञ्चालनमा खटाएको छ । जसमा ३ जना चालक रहेका छन् भने ८ जना रेस्क्यु टिममा रहेका छन् । वारुणयन्त्रका इन्चार्ज दिनेश महर्जनले आलागीका घटना न्यूनीकरण गर्न २४ सै घण्टा तयार अवस्थामा रहने गरेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘हामीसँग विपद् न्यूनीकरणका सम्पूर्ण इक्युपमेन्ट रहेको छ, जसले आगलागी भएका स्थानमा गई आगो नियन्त्रण गर्न सक्छौँ ।’

धेरै स्थानमा आगो नियन्त्रण गर्न सफल भए पनि एक–दुई स्थानमा आगो नियन्त्रणमा लिन समस्या हुने गरेको महर्जनले बताउनुभयो । ‘आगलागीका घटना भएको थाहा पाउनासाथ हामी फिल्डमा खटिएका हुन्छौँ’, वारुणयन्त्र इन्चार्ज महर्जनले भन्नुभयो– ‘हामीलाई कुनै स्थानमा छिटो जानकारी नहुँदा आगो नियन्त्रण गर्न केही ढिला हुने गरेको छ ।’ पछिल्लो समय आगलागीका विपद् न्यूनीकरणमा स्थानीयले सन्तुष्टि व्यक्त गरेको भन्दै केही स्थानमा स्थानीय आफैंले आगो निभाउन खोज्दा वारुणयन्त्रलाई सम्पर्क गर्न ढिला गर्नाले धेरै क्षति हुने गरेको उहाँले बताउनुभयो ।