शिक्षा मानव जीवनको एउटा महत्वपूर्ण पक्ष हो । शिक्षाले मानवमा विभिन्न प्रकारका ज्ञान, सीप, दक्षताको विकास गराउँछ । कुनै पनि देशको विकासको अवस्थालाई मापन गर्ने महत्वपूर्ण सूचक पनि शिक्षा हो । शिक्षित नागरिकलाई विकासको एउटा महत्वपूर्ण आधार मानिन्छ । त्यसैले त मानव विकास सूचकाङ्क मापन गर्ने तीन प्रमुख सूचकमा शिक्षा पनि पर्दछ । कुनै पनि देशको नागरिकको दक्षता र क्षमता कस्तो छ भन्ने कुरा त्यस देशको शिक्षा प्रणालीमा भर पर्दछ । पछिल्लो समय मुलुकमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको रुचि कम हुँदै गएको छ । विद्यालय शिक्षा पूरा गरेका अधिकांश विद्यार्थी उच्च शिक्षाका लागि विदेश पलायन हुने क्रम बढिरहेको छ । अधिकांश विश्वविद्यालय र क्याम्पसहरुमा विद्यार्थी संख्या घट्दै गएको छ । प्राविधिक विषयहरु अध्ययन गर्न चाहने विद्यार्थीसमेत न्यून हुँदै जानुले मुलुकको शिक्षा प्रणालीबारे व्यापक बहस र चर्चा गर्नुपर्ने बेला भइसकेको छ ।
हाम्रो शिक्षा प्रणालीले शिक्षित बेरोजगारको संख्या बढाउने काममात्र गरेको छ । मुलुकमा शिक्षा आर्जन गरेका व्यक्तिहरुले स्वदेशमा उचित रोजगारीको अवसर पाउन सकेका छैनन् । विदेशमा जाँदा यहाँको शिक्षाको कुनै मान्यता रहँदैन । यसकारण पनि उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको संख्या बढेको हो । हाम्रो शिक्षा प्रणालीले शिक्षाको विश्वव्यापी परिवर्तनलाई आत्मसाथ गर्न सकेको छैन । आफ्नै भूमिमा श्रम गरेर खाने ज्ञान तथा सीप सिकाउनसमेत असफल भएको मुलुकका शिक्षा अन्तर्राष्ट्रिय बजारमा काम लाग्ने खालको छैन । शिक्षालाई नवप्रवर्तनसँग जोड्न नसकेकै कारण शिक्षित जनशक्तिलाई स्वरोजगारतर्फ अग्रसर गराउन सकिएको छैन । मुलुकमा पढेका अधिकांश जनशक्तिमा जागिरको मोह व्यापक देखिने गरेको छ । निजी क्षेत्रमा पर्याप्त रोजगारीको अवसर नभएपछि लोकसेवा वा शिक्षक सेवा आयोगको परीक्षाको तयारी गर्ने र सरकारी जागिर खाने उद्देश्य अधिकांश शिक्षित बेरोजगारको हुने गरेको छ । केही सिप नलागेपछि डिग्रीको प्रमाणपत्र बाकसमा राखेर कुनै विदेश पलायन हुनुपर्ने स्थिति छ ।
करिब ३ दशकदेखि हेटौंडामा स्तरीय शिक्षा प्रदान गर्दै आएको हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेजले शिक्षासँगै नवप्रवर्तन र उद्यमशीलता विकासका लागि प्रयत्न गर्दै आएको छ । शनिबार र आइतबार नवप्रवर्तन र उद्यमशीलतासम्बन्धी क्षमता विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ । कार्यक्रममा नवप्रवर्तन र उद्यमशीलताको विषयमा विज्ञ, सरोकारवाला र सरकारी निकायका अधिकारीको प्रस्तुति, बहस र अन्तरक्रिया भएको थियो । कार्यक्रममा भारतको लुधियानास्थित पीसीटीई ग्रुप अफ इन्स्टिच्युट्स र हेटौंडा स्कूल अफ म्यानेजमेन्टबीच सहकार्यको सम्झौता भएको छ । क्याम्पसका विद्यार्थी र प्राध्यापकसँगै आवश्यक सूचना तथा जानकारी आदानप्रदान गर्ने, दुबै संस्थाबीच संयुक्त अनुसन्धानसँगै शैक्षिक गतिविधि सञ्चालन गरिने सम्झौता भएको हो । कलेजले प्रत्येक दुई वर्षमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
मुलुकमा नवप्रवर्तन र उद्यमशीलता विकासका लागि सरकारी निकायबाट उल्लेख्य काम हुन सकेको छैन । नवप्रवर्तनबाट नयाँ कुराको विकासका साथै भएका कुरामा आवश्यक सुधार हुने गर्दछ । यसले समग्र उत्पादन र उत्पादकत्व वृद्धि गराउँछ । साथै, उद्यमशीलताले स्वरोजगार बनाउनुका साथै रोजगारीको अवसर वृद्धि गराउँछ । नवप्रवर्तन र उद्यमशीलताको विकासका लागि राज्यका सबै निकायले ध्यान दिनुपर्ने हो । अझ तीनै तहको सरकारले यसतर्फ विशेष पहल गर्नु आवश्यक छ । कमसेकम उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई शिक्षासँगै उनीहरुले अध्ययन गरेको विषय र स्कोपसँग मिल्दोजुल्दो नवप्रवर्तन र उद्यमशीलतासम्बन्धी पर्याप्त जानकारी दिनुपर्छ । यसका लागि सम्बद्ध विश्वविद्यालय र क्याम्पसहरुले विशेष ध्यान दिनु उचित हुनेछ ।