शिविरमा आँखा परीक्षण गरिँदै । फाइल तस्वीर ।

हेटौंडाः हेटौँडा–१३ र बारा जिल्लाको महागढीमाई नगरपालिका–९ मा सोमबार भएको आँखा शिविरमा ७४ जनाको आँखामा मोतिविन्दु पहिचान भएको छ । हेटौंडा उपमहानगरपालिका–१३ स्थित फेमकोल एकेडेमीमा भएको शिविरमा ५१ जना र महागढीमाईमा भएको शिविरमा २३ जनाको आँखामा मोतिविन्दु पहिचान भएको हेटौँडा सामुदायिक आँखा अस्पतालले जनाएको छ ।

फेमकोल एकेडेमीमा भएको शिविरमा आँखा जाँच गरिएका ७ सय २७ जनामध्ये ५१ जनाको आँखामा मोतिविन्दु देखिएको हो । शिविरमा प्राविधिक सहयोग हेटौँडा सामुदायिक आँखा अस्पतालको रहेको थियो भने अन्य सहयोग रोटरी क्लब अफ काठमाडौं मिड टाउन र रोटरी क्लब अफ मकवानपुरको सहयोग रहेको थियो । फेमकोल एकेडेमीमा भएको शिविरमा हेटौँडा उपमहानगरपालिका–१२, १३ र मनहरी गाउँपालिका–१ का स्थानीय बासिन्दाले आँखा जाँच गराएका छन् ।

आँखा शिविरमा आँखा परीक्षण गर्न आएका सर्वसाधारण ।

शिविरको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष पेम्बा लामा, रोटरी क्लबका पदाधिकारीको पनि उपस्थिति रहेको थियो । शिविरमा फेमकोल एकेडेमीका शिक्षक, विद्यार्थीले सहयोगीको भूमिका निर्वाह गरेका थिए । यस्तै बारा जिल्लाको महागढीमाई नगरपालिका–९, कञ्चनपुरमा भएको शिविरमा एक सय ७१ जनाको आँखा परीक्षण गर्दा २३ जनामा मोतिविन्दु पहिचान भएको हो । महागढीमाईमा साथी युवा क्लब र वडा कार्यालय स्थानीय आयोजकको रुपमा रहेको थियो ।

यसअघि शनिबार मकवानपुरको मनहरी गाउँपालिकामा भएको शिविरमा ११ जनामा मोतिविन्दु पहिचान भएको थियो । मंगलबार बारा जिल्लाको मधुवनमा शिविर हुने हेटौँडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ अधिकृत सुधीर श्रेष्ठले जानकारी दिनुभएको छ । शिविरमा मोतिविन्दु पहिचान भएका विरामीलाई हेटौँडास्थित हेटौँडा सामुदायिक आँखा अस्पताल ल्याएर मोतिविन्दुको शल्यक्रिया गरिनेछ । बुधबार र बिहिबार दुइदिन शल्यक्रिया गरिने श्रेष्ठले जानकारी दिनुभयो ।