नवप्रवर्तन र उद्यमशीलताको विकासमा “सरकारसँग अपेक्षा” बहसमा सहभागी ।

हेटौँडाः नवप्रवर्तन र उद्यमशीलतासम्बन्धी क्षमता विकासका लागि आयोजित अन्तर्राष्ट्रिय सम्मेलन सकिएको छ । शनिबार र आइतबार दुई दिन हेटौँडाको एभोकाडो एण्ड अर्किड रिसोर्टमा सम्पन्न सम्मेलनमा हेटौँडास्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइसेन्स र भारतको लुधियानास्थित पीसीटीई ग्रुप अफ इन्स्टिच्युट्सबीच सहकार्यको सम्झौता भएको छ । दुई दिन विभिन्न चरणमा नवप्रवर्तन र उद्यमशीलताको विषयमा विज्ञ, सरोकारवाला र सरकारी निकायका अधिकारीको प्रस्तुती, बहस र अन्तरक्रिया भएको थियो ।

आइतबार नवप्रवर्तन र उद्यमशीलता विकासमा “सरकारसँग अपेक्षा” शीर्षकको बहस भएको थियो । बहसमा बागमती प्रदेश नीति तथ योजना आयोगका उपाध्यक्ष प्रा.डा. नर बिक्रम थापा, संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत विदेशी लगानी तथा बौद्धिक सम्पत्ति शाखाका उपसचिव विमलप्रसाद बराल, हेटौँडा उपमहानगरपालिकाका निर्देशक अनिरुद्र नेपाल सहभागी हुनुहुन्थ्यो । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा.डा. थापाले दोस्रो आवधिक योजनाको अवधारणा तयार गरिरहेको आयोगले छिट्टै दोस्रो पञ्चवर्षीय योजना (२०८१/८२–२०८५/८६) तयार पार्ने जानकारी दिनुभयो ।

आवधिक योजना बनाउँदै गर्दा प्रदेशको राजधानी हेटौँडालाई केन्द्रमा राखेर संघीय राजधानी काठमाडौं र छिमेकी मुलुक भारतको बिहार र उत्तर प्रदेशको उच्च जनघनत्वलाई समेत लक्षित गरी नयाँ उद्यम, व्यवसाय मात्रै नभई सेवा क्षेत्रमा पनि नयाँ अवसरको खोजी गरिने उपाध्यक्ष थापाले दावी गर्नुभएको छ । उपाध्यक्ष थापाले सेवा क्षेत्रमा शिक्षा पनि आकर्षणको रुपमा विकास गर्न सकिने उल्लेख गर्नुहुँदै प्रदेश सरकारले स्थापना गर्ने सार्वजनिक विश्वविद्यालयमा भारतको बिहार र उत्तरप्रदेशका विद्यार्थीलाई आकर्षित गर्न सकिने अपेक्षा गर्नुभयो ।

भारतीय शैक्षिक संस्था र म्यानेजमेन्टबीचको सम्झौतापत्र आदानप्रदान गरिँदै ।

संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत विदेशी लगानी तथा बौद्धिक सम्पत्ति शाखाका उपसचिव विमलप्रसाद बरालले नवप्रवर्तन र उद्यमशीलताका लागि मन्त्रालयले गरेको कामको विषयमा जानकारी गराउनुभएको थियो । उहाँले सरकारले प्रयास गरे पनि सफलता हासिल हुन नसकेको स्वीकार्नुभयो । बहसमा सहभागी हेटौँडा उपमहानगरपालिकाका निर्देशक अनिरुद्र नेपालले औद्योगिक र उद्योग विकास गर्ने नीति उपमहानरले लिएको जानकारी गराउनुभयो । उहाँले नवप्रवर्तनमा पनि उपमहानगरको ध्यान रहेको जानकारी दिनुभयो । हेटौँडा उपमहानगर क्षेत्रको सडक–ढलका अधिकांश योजना सम्पन्न भइसकेको उल्लेख गर्नुहुँदै नेपालले भन्नुभयो, “अब आर्थिक विकास र समृद्धिकै लागि उपमहानगरले काम गर्ने हो । संघीय सरकारले नवप्रवर्तनका कार्यक्रम सञ्चालन गर्न देशका ४० पालिका छनोट गर्दा हेटौँडा पनि परेको छ । यसले नवप्रवर्तनमा सहयोग पुग्नेछ ।”

हेटौँडा उपमहानगरपालिकाको आर्थिक विकासकै सम्भावनालाई ध्यानमा राखेर भारतको बिहार राज्यको पटनासँग हेटौँडा उपमहानगरले भगिनी सम्बन्ध कायम गर्ने प्रयास भइरहेको नेपालले जानकारी दिनुभयो । केही समय उपमहानगरले गरेको एक अध्ययनले हेटौँडामा पटनाबाट भ्रमणका लागि आउने पर्यटकको संख्या उल्लेख्य रहेको उहाँले बताउनुभयो । नवप्रवर्तनकै लागि हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा दुइ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको उहाँको भनाइ छ ।

उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष स्वागत राज प्याकुरेलले सहजीकरण गर्नुभएको बहसमा सहभागीले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले नवप्रवर्तन र उद्यमशीलतामा प्रभावकारी कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए । सरकारमा नेतृत्व गर्नेहरुले गम्भीरताका साथ नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा काम गर्न नसकेको टिप्पणी सहभागीको थियो ।

यसैबीच भारतको लुधियानास्थित पीसीटीई र हेटौँडा स्कूल अफ म्यानेजमेन्टबीच सहकार्यको सम्झौता भएको छ । ५ वर्षका लागि गरिएको सम्झौतामा म्यानेजमेन्टका योजना तथा विकास निर्देशक दिपेश जोशी र लुधियानाका डा. नरेश सचदेवले हस्ताक्षर गर्नुभएको छ । १२ बुँदे सम्झौतामा विद्यार्थी, प्राध्यापकसँगै आवश्यक सूचना तथा जानकारी आपसमा आदान–प्रदान गर्ने, पीसीटीईले म्यानेजमेन्टलाई नेपालकै अग्रणी शैक्षिक संस्थाको रुपमा स्वीकार्ने उल्लेख गरिएको छ । विविध विषयमा सहकार्य गर्दै गर्दा दुवै संस्थाबीच सहमतिका आधारमा निर्णय लिइने उल्लेख गरिएको छ । सम्झौताअनुसार संयुक्त अनुसन्धानसँगै शैक्षिक एवम् साँस्कृतिक कार्य समेत गरिनेछ । छोटो अवधिका प्राध्यापक, विद्यार्थी तथा पेशागत तालिमको आयोजना गर्ने, प्रकाशन र सूचनाको आदानप्रदान, कार्यशाला तथा सम्मेलनको आयोजना गर्ने पनि सम्झौता भएको छ ।

पहिलो अन्तर्राष्ट्रिय सम्मेलनको समापनसँगै हरेक २ वर्षमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने हेटौँडा स्कूल अफ म्यानेजमेन्टले प्रतिवद्धता व्यक्त गरेको छ । हेटौँडा स्कूल अफ म्यानेजमेन्टले नेदरल्याण्डस र भारतका विज्ञको सहभागितामा सम्मेलनको आयोजना गरेको हो । सम्मेलन आयोजनाका लागि विश्वविद्यालय अनुदान आयोग, हेटौँडा उपमहानगरपालिका, उद्योग संघ मकवानपुर, बागमती प्रदेश युवा परिषद्, किङ्ग्स कलेज काठमाडौं, पुम नेदरल्याण्ड, नेपाली युवा उद्यमी, व्यवसायी मञ्चले सहयोग गरेको छ भने विभिन्न सरोकारवाला निकायको पनि साथ रहेको छ ।