अभिभावकलाई सम्मान गरिँदै ।

हेटौँडाः हेटौँडा–३, बसामाडीस्थित शिक्षा विकास शिशु सदनले २८औं अभिभावक दिवसमा अभिभावकलाई सम्मान गरेको छ । शिक्षा विकास शिशु सदनकी संस्थापक प्रिन्सिपल ग्रेस श्रेष्ठको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका अभिभावक अञ्जली रुम्बा र राजन श्रेष्ठलाई सम्मान गरिएको हो । विद्यार्थीले उचित शैक्षिक वातावरण प्राप्त गर्न अभिभावकको साथ र सहयोग आवश्यक भएकोले अभिभावकलाई सहयोगी बन्न प्रेरित गर्ने गरी सम्मान गरिएको प्रिन्सीपल श्रेष्ठले बताउनुभएको छ ।

आगामी वर्ष कक्षागतरुपमा नै अभिभावकलाई सम्मान गर्ने प्रिन्सीपल श्रेष्ठले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा विद्यार्थीले नृत्य, गायन, नाट्य तथा वाद्यवादन कला प्रस्तुत गरेका थिए । अभिभावक दिवसलाई सम्बोधन गर्नुहुँदै हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले आजका बालबालिकाका भोलिको दिनमा असल र अब्बल नागरिक बन्नुपर्ने बताउनुभयो । नगरप्रमुख लामाले अभिभावकलाई आफ्ना बाबुनानीसँग सँगै रहन, खेल्न, रमाउन आग्रह गर्नुभयो । बालबालिकालाई सकारात्मक काममा क्रियाशील हुन प्रेरित गर्न आग्रह गर्नुभएकी नगरप्रमुख लामाले अभिभावकलाई आफ्ना बाबुनानीलाई गलत संगत र कुलतबाट बचाउन अपील गर्नुभयो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) मकवानपुरका अध्यक्ष विनोद सुवेदीले स्कूले विद्यार्थी नै विद्युतीय भेप (ध्रुम्रपान) को कुलतमा रहेको भन्दै अभिभावकलाई आफ्ना बाबुनानीलाई त्यस्तो कुलतमा पर्न नदिन सचेत गराउनुभयो । घरको संस्कारले बालबालिकाको शिक्षामा महत्वपूर्ण प्रभाव पार्ने भएकोले अभिभावकले असल संस्कार र संगतमा लगाउन ध्यान दिनुपर्ने सुवेदीको भनाइ थियो ।

शिक्षा विकास शिशु सदनले १० जना चेपाङ विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा पढाइरहेको, १० जना चेपाङ विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइरहेको संस्थापक प्रिन्सीपल श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा ३ नम्बर वडा अध्यक्ष ढलक बहादुर थापा, हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका अधिकृत राजमणि अधिकारी, प्याव्सन मकवानपुरकी उपाध्यक्ष लक्ष्मी श्रेष्ठ, प्याव्सन हेटौँडा उपमहानगर समितिका सचिव श्यामकुमार बानियाँको पनि आतिथ्य रहेको थियो ।