मकवानपुर जिल्लाको शिक्षा क्षेत्रमा डेन्टी जंग शाहको योगदान ठुलो छ । राजा महेन्द्रका मुख्य चौतरीया भएर अन्तरजातीय केटीसँग प्रेम भएको र उहाँको पिताजीको तिब्र बिरोधका कारण प्रेमिकालाई लिएर घरबाट कसैलाई थाहा नदिई निस्कनु भयो । हेटौँडा आइपुगेपछि पान्तलेतिर पुग्नु भयो । त्यो रात उहाँ एउटा रुखको छहारीमा बिताउनु भयो । त्यतिबेला उहाँसँग सीमित मात्र पैसा थियोे । भोलिपल्ट हेटौँडा बजार पुगेर कामको खोजीमा स्कुलमा पुग्नु भएर सोधी–खोजी गरेपछि तत्कालिन समयका विद्यालयका भद्र सचिव मालपोत कार्यालयका मुखिया गंगा दाससँग कुराकानीपछि विद्यालयमा अंग्रेजी पढाउने शिक्षक अभाव भएको बेला उहाँलाई रु ८० मासिक बेतन पाउने गरी शिक्षक पदमा नियुक्ति दिनुभयो ।
प्रारम्भिक अवस्थामा बजारदेखि अलि पर पिप्लेमा सानो छाप्रोमा निर्बाह गर्न थाल्नुभयो । राजदरबारसँग नजिकको सम्बन्ध भएका शक्तिशाली र कडा स्वभावका उहाँका पिताजीले अन्तरजातीय बिबाह गरेका प्रेमिकाबाट छुटाउन निकै दबाब र वडा हाकिमसम्मको जागीर दिन प्रलोभन दिए पनि उहाँले टेर्नु भएन । बरु शिक्षण पेसा नै रोजेर दुखलाई निरन्तरता दिनुभयो । म हलमा जीवन निर्वाह गरेका शाहजीले छाप्रोको जीवन आर्थिक अभावको सामना गरेरै बालबालिकाहरुसँग रमाउनु भयो । केहि समयको अन्तरालमा उहाँलाई पुत्रलाभ भयो । यसलाई सामना गर्न साँझ बिहान ट्युशन पढाउन थाल्नु भयो । शाहजीका आमा बितिसक्नु भएको थियो । उहाँका ठुली आमा, जसको बिबाह भएको थिएन, उहाँलाई पनिसँगै राख्नु भयो । बालबच्चाहरु थपिँदै गयो ।
![](https://samriddhasamaj.com/wp-content/uploads/2023/08/dev-prd-shrestha-972x1024.jpg)
उहाँले आफु सुत्ने टाँड मुनी कुखुरा पनि पाल्नु भयो । यसरी संघर्स गर्दै बालबच्चाहरु हुर्काउँदै शिक्षण पेसालाई निरन्तरता दिनु भयो । भर्खरै विकास हुँदै गरेको हेटौँडामा विद्यालयका बालबालिकाहरुसँग दुई चार रुपैयाँ शुल्क लिनु बाहेक अरु कुनै आर्थिक श्रोत थिएन । थोरै बेतन पाउन पनि महिनौ कुर्नुपर्ने बाध्यता थियोे । त्यस माथि शिक्षकहरुलाई हेर्ने दृष्टिकोण सकारात्मक थिएन । चिसापानीका किसान आन्दोलन चर्कँदै गएको र प्रशासन र पञ्चहरुको दबाब बढ्दै गएको थियोे । तर शिक्षकहरुमा गहिरो मित्रता थियोे ।
यसैबीचमा डेन्टी जंग सर बी एडको तालिममा काठमाडौं जानुभयो । साथीहरूको सहयोगमा डेरामा बसेर तालिम लिइरहेकै क्रममा उहाँलाई मेरुदण्डमा टिबी रोग लाग्यो । साथीभाइ र सबैको सहयोगमा छ महिना बेड रेस्टपछि रोग निको भयो । त्यसपश्चात तालिम पनि पूरा गर्नुभयो । हेटौँडा फर्केपछि पुनः पढाउन थाल्नु भयो । उहाँले आफ्ना पिताजीबाट बेला बेलामा दबाब र प्रलोभन आएपनि हेटौँडा छोड्न चाहेन । पैत्रिक सम्पतिको पनि वास्ता गर्नुभएन ।
उहाँका आमाका दाजुहरुले पनि पिताजी विरुद्ध अंश मुद्दा लड्न उक्साउँदा पनि उहाँले चाहनु भएन । शिक्षक पदमै रहँदै उहाँले पाँच छोरा र पाँच छोरी हुर्काउनु भयो । पाँच छोरा मध्ये एउटा छोरा शेषजंग शाहको पानीमा डुबेर असामयिक निधन भएको थियोे । उहाँले शेषजंगको नाममा साहित्य संगम मकवानपुरमा एउटा पुरस्कारको पनि व्यवस्था गर्नु भएको छ । एउटा छोरा सानैमा निमोनियाले गुमाउनु पर्यो । यसरी बाल बच्चाहरु हुर्काउँदै पढाउँदै संघर्ष गर्दै स्वाभिमान र आत्मसम्मानलाई जोगाउँदै सबैका प्रिय शिक्षकको रुपमा भुटनदेवी माविको प्रधानाध्यापक पदमा २०३३ सम्म र आधुनिक राष्ट्रिय माविमा २०४५ सम्म तत्पश्चात् भुटनदेवी माविमा नै कार्यरत रही २०५६ सालसम्म कार्यरत रही निवृत हुनुभयो ।
राजाका मुख्य चौतारीयाका कान्छा छोरा, ठुला घर परिवारमा जन्मेर पनि अन्तरजातीय बिबाहका कारण आफ्नो नैतिकताका कारण तत्कालिन समयमा वडा हाकिम र प्रमुख जिल्ला अधिकारी जस्तो शक्तिशाली र ठूलो पदको आश्वासन आफ्ना पिताजीबाट पाए पनि सबै प्रलोभनलाई तिलाञ्जली गरी ठूली आमा र श्रीमतीसँग पिप्लेको सानो फुसको छाप्रोमा जीवन निर्वाह गर्दै दुख–सुखमा पनि बालबालिकासँग रमाउन थाल्नुभयो । पछि बजारमा सर्नुभयो । यस्तो दुखको अवस्थामा पनि उहाँले अंश पैत्रिक सम्पतिको दावी गर्नु भएन । बरु दुखमै रमाउनु भयो । उहाँको झुकाव गरिब, दुखी र शोषणको बिरोधी हुनाका साथै प्रगतिशील पक्षको सदैव समर्थनमा थियो । उहाँ कुशल प्रशासक र सबैका प्रिय शिक्षक हुनुहुन्थ्यो ।
शिक्षकहरुलाई पनि अरु कर्मचारीसरह सेवा सुविधा पाउनुपर्ने माग राखेर शिक्षक संगठनमा संगठित हुनुभई थुप्रै पटक प्रहरी हिरासतमा र एक महिना बीरगंज जेलमा जेलजीवन पनि बिताउनु भयो । उहाँ मकवानपुर जिल्लाको पहिलो शिक्षक संगठनका अध्यक्ष हुनु हुन्थ्यो । तात्कालिन समयको सगंठन सबै शिक्षकहरुको साझा संगठन थियोे । उहाँको त्याग, तपस्या र लगनशीलतालाई कदर गर्दै उहाँलाई २०४२ सालमा अभिभावक शिक्षक र विद्यार्थीहरुले भव्य अभिनन्दन गरी नगरपरिक्रमा गराएको थियो । उहाँले आफ्ना सबैलाई राम्रो शिक्षा दिई समाजमा मर्यादित पेशामा लगाउनु भएको छ । जीवनको उत्तरार्धमा प्रधानाध्यापक जस्तो गरिमामय पदमा बसेर काम गरे तापनि एकातिर पार्टीको झोले बन्नुपर्ने अर्कोतिर पुराना मण्डलेहरुको पनि दबाब सहनुपर्ने कारणले उहाँ केही समय बिचलित र निराश पनि हुनुभयो ।
सिधा–साधा र आफ्नो काममा र आस्थामा स्वाभिमानपूर्वक लागी पर्ने व्यक्तिहरुलाई संस्कार नभएका ठूला–वडा भनाउँदाहरुको बीचमा टिक्न गाह्रो हुन्छ । पछिल्लो समय उहाँ पार्किन्सन रोगका कारण खुट्टा कमजोर भई राम्रोसँग हिँड्–डुल गर्न गाह्रो परेको थियोे । सादा जीवन, कठिन संघर्षकासाथ सबैका प्रिय शिक्षककारुपमा चिनिनु भएका डेन्टी जंग सरको यहि २०८० साल माघ १६ गते बिहान निवृत हुन बाथरुम पस्दा लड्नुभयो । त्यहीँ बेहोस हुनु भएपछि अस्पताल लगिएको थियो । उहाँको हृदयघातका कारण निधन भयो । उहाँको देहावसानमा मकवानपुरको शिक्षा क्षेत्रमा उहाँका समकालीन बीच सन्नाटा छाएको छ । मकवानपुरमा उहाँको योगदान प्रशंसनीय छ । उहाँ मेरो गुरुका साथै सहयात्री मित्र पनि हुनुहुन्थ्यो । उहाँको निधनको खबरले अत्यन्त मर्माहत भएको छु । शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना र सहानुभूति प्रकट गर्दै आदरणीय डेन्टी जंग सरप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।