हेटौँडाः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५, रातोमाटे चेकपोष्टबाट मकवानपुर प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्लाको बिन्दाबासिनी गाउँपालिका(१ का २८ वर्षीय मनु पण्डित र ३२ वर्षीय कृष्णप्रसाद कानु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

आइतबार बेलुका ७ बजेर १५ मिनेटको समयमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले रातोमाटे लच्कामा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ज ३ प ७७२८ नम्बरको मोटरसाईकललाई सुरक्षाजाँच गर्दा मोटरसाईकलमा सवार पण्डित र कानुको साथबाट लागुऔषध फेला पारेको थियो । प्रहरीले उनिहरुको साथबाट लागुऔषध ओनरेक्स ८४ बोतल, नाईट्राभेट ३० ट्याब्लेट र प्रोक्सीको स्प्यास १६ क्याप्सुल फेला पारेको थियो । लागुऔषधसहित दुवैजनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।