काठमाडौंको न्युरोड टिम (एनआरटी) का खेलाडीहरु ।

हेटौंडाः हेटौंडामा जारी सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबारबाट सेमिफाइनलका खेल सुरु हुँदैछ । हेटौंडा–६ स्थित गौरीटार रंगशालामा हुने आजको पहिलो सेमिफाइनल खेलमा फाइनल प्रवेशका लागि काठमाडौंको न्युरोड टिम (एनआरटी) र धनकुटाको राजारानी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । प्रतियोगितामा बराबरी दुई–दुई खेल खेल्दै सेमिफाइनल प्रवेश गरेको दुवै टोली आज जित निकाल्ने योजनासहित मैदान उत्रनेछ । प्रतियोगितामा राजारानी चर्च ब्वाईज युनाइटेडलाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेको थियो भने विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । यस्तै एनआरटी हिमालयन शेर्पा क्लबलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो भने चर्च ब्वाइजलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । आजको विजयी टिमले फाइनलमा उपाधीका विभागीय टोली नेपाल टोली नेपाल एपीएफ र सर्लाहीको बागमती युवा क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल बिहिबार हुनेछ ।

प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेता टिमले १५ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले ३ सय ५० सीसीको बुलेट बाइक प्राप्त गर्नेछ ।