हेटौंडाः बागमती प्रदेश सरकारले चितवनमा निर्माणाधीन रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि आवश्यक बजेट सुनिश्चित गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रङ्गशाला निर्माणका लागि भरतपुर महानगरसँगको सम्झौताअनुसारको स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको हो ।
गत कात्तिक २१ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले तयार गरेको ७५ करोड रुपैयाँको लागत अनुमानमा प्रदेश सरकारले ७० र महानगरपालिकाले ३० प्रतिशत रकम बेहोर्ने सम्झौता भएको थियो । महानगरपालिकासँगको सम्झौताअनुसार प्रदेश सरकारले रंगशालाका लागि ५२ करोड ५० लाख रुपैयाँ सुनिश्चितता गरेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताउनुभयो ।
बैठकले भरतपुर महानगरपालिकालाई रङ्गशाला निर्माण कार्यका लागि ठेक्का प्रक्रिया अघि बढाउन आग्रहसमेत गरेको छ । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगले माग गरे अनुसार संघीय समपूरक र विशेष अनुदानको लागि योजना सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकले समपूरक र विशेष अनुदानका लागि १०/१० वटा योजना सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले अघिल्लो आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न भएर भुक्तानी हुन बाँकी रहेका योजनाहरुको भुक्तानी दिने निर्णय गरेको छ ।