वर्षेनि सडक यातायातका साधनको संख्या तीव्ररुपमा बढिरहेको छ । अन्य वैकल्पिक यातायातको साधनको सहज पहुँच नभएका कारण सडक यातायातका साधन बढ्दै जाँदा सडक सुरक्षासमेत चुनौतीपूर्ण बनिरहेको छ । बढ्दो यातायात साधनको चापका कारण ट्राफिक व्यवस्थापनमा पनि समस्या बनिरहेको छ । सवारी साधनको संख्या वृद्धि हुँदै जाँदा ट्राफिक नियम उल्लंघनको क्रम पनि बढ्दै गएको छ । यसले दुर्घटना र जनधनको क्षति पनि उस्तै वृद्धि भएको छ । ट्राफिक प्रहरीले सवारी नियमन गर्न नसक्दा ट्राफिक व्यवस्थापन फितलो बनिरहेको छ । ट्राफिक प्रहरीले सवारी चेकजाँचका क्रममा नियम उल्लंघन गर्ने सवारी साधन र चालकलाई कारबाही गरेर करोडौं जरिवाना असुल गरिरहेको छ । यसले ट्राफिक प्रहरीको अनुपस्थितिमा ट्राफिक नियम उल्लंघन गर्नेक्रम कम गर्न सकेको छैन । ट्राफिक प्रहरीले सवारी चेकजाँच गरी जरिवाना असुल गर्न चासो देखाउँदै आएको भए पनि सवारी साधन नियमन र ट्राफिक व्यवस्थापनका लागि सचेतनामूलक कार्यक्रम सञ्चालनमा पर्याप्त चासो दिन सकेको छैन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा झण्डै १६ हजार सवारी साधनलाई कारबाही गरेको छ । सवारी कारबाहीबाट ट्राफिक प्रहरीले जरिवानाबापत एक करोड १६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । ट्राफिक प्रहरीले गत साउनमा एक हजार ७ सय १७ वटा सवारी साधन कारबाही गरी १२ लाख १२ हजार रुपैयाँ राजस्व आम्दानी गरेको छ । भदौ महिनामा २ हजार ३ सय ५२ वटा सवारी साधन कारबाही गरी १६ लाख ५३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । असोज महिनामा २ हजार ६ सय ४० वटा सवारी साधन कारबाही गरी १९ लाख ५५ हजार ५ सय रुपैयाँ राजस्व आम्दानी गरेको छ । मकवानपुर ट्राफिक प्रहरीले कात्तिक महिनामा २ हजार २ सय ८ वटा सवारी साधन कारबाही गरी १६ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै, मंसिरमा ३ हजार ६ सय २० वटा सवारी साधन कारबाही गरी २७ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । पुस महिनामा ३ हजार २ सय १८ वटा सवारी साधन कारबाही गरी २३ लाख ७३ हजार रुपैयाँ राजस्व ट्राफिक प्रहरीले उठाएको छ ।
ट्राफिक प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७९/०८० को साउनदेखि पुससम्म २० हजार १ सय ८४ सवारी साधन कारबाहीबाट एक करोड ५६ लाख ५० हजार ५ सय रुपैयाँ जरिवाना संकलन गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि पुससम्म १६ हजार ३ सय ५० वटा सवारी कारबाहीबाट १ करोड २६ लाख ६० हजार रुपैयाँ राजस्व आम्दानी गरेको थियो । ३ वर्षको तथ्यांक हेर्दा औसतरुपमा मासिक करिब ३ हजार सवारी साधन कारबाहीमा परेको पाइन्छ । यसबाट दैनिक करिब एक सय वटा सवारी साधन कारबाहीमा पर्ने गरेको बुझ्न सकिन्छ । जरिवानाबापत उठाइएको राजस्वको आँकडाले पनि मासिक औसत २२ लाख रुपैयाँभन्दा बढी संकलन भइरहेको छ । दैनिकरुपमा हेर्दा यो रकम करिब ७५ हजार रुपैयाँ हुन आउँछ ।
ट्राफिक प्रहरीले अधिकांश जरिवाना राजमार्ग तथा शहरी सडकमा गरिएको सवारी चेकजाँचको क्रममा उठाउने गरेको छ । सवारी चेकजाँचका क्रममा सवारी चालक अनुमतिपत्र, सवारी दर्ता तथा नवीकरण, सवारी साधन सञ्चालन अनुमतिपत्रलगायत कागजपत्र जाँच गरेर नियमानुसार नपाएमा जरिवाना गर्ने गरेको छ । तर, सडकलाई सुरक्षित राख्न, दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक व्यवस्थापन गर्न महत्वपूर्ण मानिएका कारक तत्वलाई कम गर्ने र सवारी नियमन गर्नेतर्फ ट्राफिक प्रहरीले पर्याप्त ध्यान पुर्याउन सकेको छैन । तीव्र गतिमा सवारी चलाउने, अनुमति नभएको बाटो तथा रुटमा सवारी चलाउने, जथाभावी राजमार्ग र अन्य सडकमा सवारी रोक्ने, यात्रु/मालसामान ओराल्ने र उकाल्ने, सवारी साधनको प्राविधिक चेकजाँच नगर्ने, बिना अनुमतिपत्र सवारी चलाउने, मादकपदार्थ र लागूपदार्थ सेवन गरी सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्नेलाई नियन्त्रण गर्न नसकेसम्म सडकलाई सुरक्षित बनाउन सकिँदैन । ट्राफिक प्रहरीले जरिवाना संकलनलाई भन्दा सडकलाई सुरक्षित बनाएर दुर्घटना न्यूनीकरण र सवारी व्यवस्थापनमा थप कार्य गर्नु आवश्यक छ ।