म्यान अफ द म्याच एनआरटीका बिवेक मगरलाई ट्रफी र नगद हस्तान्तरण गरिँदै ।

हेटौँडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा उत्कृष्ट पुनरागमन गर्दै न्युरोड टिम (एनआरटी) सेमीफाइनल प्रवेश गरेको छ । हेटौँडा–६ स्थित गौरिटार रंगशालामा भएको पहिलो क्वार्टरफाइनल खेलमा २–० ले पछि परेको स्थितिमा एनआरटीले चर्च ब्वाईज युनाइटेडलाई हराउँदै सेमीफाइनल प्रवेश गरेको हो ।

निर्धारित समय २–२ गोलको बराबरीपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा ४–३ गोलअन्तरले चर्च ब्वाइजलाई हराउँदै एनआरटी सेमीफाइनल प्रवेश गरेको हो । म्यान अफ द म्याच एनआरटीका बिवेक मगर घोषित भए । विवेकले नगद १० हजार रुपैयाँ पाए । आइतबार घरेलु टोली रिगल हेटौँडा रिसोर्ट एन्फा मकवानपुर र बागमती युथ क्लब सर्लाहीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको उपाधि विजेता टिमले १५ लाख रुपैयाँ र उपविजेता टिमले १० लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीका लागि हेटौँडा–४ का व्यवसायी सन्तोष गौतमले ३ सय ५० सीसीको रोयल इन्फिल्ड बाइक प्रायोजन गर्नुभएको छ । १२ वटा टिमहरुको सहभागिता रहेको प्रतिायोगितामा ५ वटा टिम बाहिरिएको छ । प्रतियोगिताको फाइनल खेल यही माघ २७ गते हुनेछ ।