अफिम खेती फँडानी गर्दै प्रहरी ।

हेटौंडाः मकवानपुर जिल्लाको पछाडि परेको गाउँपालिकाको रुपमा राक्सिराङ गाउँपालिकालाई लिन सकिन्छ । भौगोलिकरुपले पनि पालिका पछाडि परेको छ । यस पालिकामा चेपाङ जातिका मानिसको पनि बसोबास रहेको छ । भौगोलिक विकटता, आर्थिकरुपले पनि यो पालिका कमजोर नै रहेको छ ।

आर्थिक, भौगोलिकरुपले कमजोर रहेको पालिकामा ६० प्रतिशत जंगल र ४० प्रतिशत खेतीयोग्य जमिन रहेको छ । जसमा मानिसले उपभोग्य कृषि उपजभन्दा पनि धैरै लागूऔषध गाँजा र अफिम खेती गर्दै आइरहेका छन् । लागूऔषध गाँजा, अफिमलाई नेपाल सरकारले प्रतिबन्धित गरेको छ । तर पनि मानिसहरु गाँजा र अफिम खेती गरिरहेका छन् । मकवानपुरको मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका र भीमफेही गाउँपालिकाका केही वडाहरुमा अधिक मात्रामा गाँजा र अफिम खेती हुने गरेको छ । यी पालिकाहरुमा खेतीयोग्य जमिनको ७० देखि ८० प्रतिशत जमिनमा गाँजा र अफिम नै खेती हुने गरेको छ ।

विकट स्थान, बाटोको अभाव, विकास नभएका कारण मानिसहरुले अन्य वस्तु खेती गर्न आकर्षित नभएको देखिन्छ । सरकारले प्रतिबन्ध लगाएको लागूऔषध गाँजा र अफिम मकवानपुर प्रहरीले वर्षेनि फडानी गर्ने गरेको छ । प्रहरीले लागूऔषध गाँजा र अफिमलाई फल्ने समयमा फडानी गरी नष्ट गर्ने गरेको छ । तर मकवानपुरका केही स्थानीय तहमा भने अझै पनि लागूऔषध गाँजा र अफिम खेती मौलाएको छ । स्थानीय तहहरुको माग नै गाँजालाई बैधानिकता दिनुपर्छ भन्ने रहेको छ । राक्सिराङ गाउँपालिकाले गाँजालाई बैधानिक गर्न भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ज्ञापनपत्र नै बुझाएको थियो ।

यस्तै, राक्सिराङको ६, ७ र ८ नम्बर वडामा प्रहरीले अफिम फडानी गरेको छ । प्रहरीले लागूऔषध अफिम फडानीको लागि प्रहरी चौकी सुनाचुरीमा बेस बनाएर प्रहरी निरीक्षक दीपक थापाको कमाण्डमा १५ जनाको टोलीले अफिम फडानी गरेको हो । प्रहरी टोलीले राक्सिराङ–६, सिलाधुनी, वडा नम्बर–७, जुरेथुम र वडा नम्बर ८ को धुसाबजार, गोठडाँडा, पाङवुङ्गमा गरी अन्दाजी ६ विगाहा ५ कठ्ठामा लगाएको लागूऔषध अफिम फडानी गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले केही समयअघि विभिन्न स्थानमा गाँजा फडानी गरेको थियो ।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले आफूूहरुले गाँजालाई बैधानिक बनाउने माग राख्दै आएको भए पनि अफिमलाई निरुत्साहित गरेको बताउनुभयो । ‘पालिकामा ६० प्रतिशत जंगल छ, ४० प्रतिशत खेतीयोग्य जमिन छ, जसमा मानिसले दैनिक उपभोग्यभन्दा गाँजा र अफिम खेती गरेका छन्’, अध्यक्ष मल्लले भन्नुभयो– ‘हामी स्थानीय सरकार जनताको नजिक छौँ, तर पनि सरकारले प्रतिबन्ध लगाएको वस्तु उत्पादनमा रोक लगाउन सकेका छैनांै ।’ विकासको दृष्टिले यो पालिका कमजोर रहेको र सरकारले सडक निर्माण गर्न नसकेकोकारण कृषिबाट उत्पादित वस्तुले बजार पाउन नसकेको उहाँको भनाइ छ । स्थानीयले आफ्नो पेट पाल्न गाँजा र अफिम खेती गर्ने गरेको भन्दै अध्यक्ष मल्लले गाँजाका विभिन्न प्रकारका औषधिजन्य वस्तुहरु उत्पालन हुने भएकाले सरकारले गाँजालाई बैधानिकता गर्नुपर्छ ।

अफिम गाँजाको विकल्प नभई कुरिति भएकाले अफिम फाँड्न तयार रहेको अध्यक्ष मल्लले दावी गर्नुभयो । सरकारले गाँजामा प्रतिबन्ध लगाउँदा तस्कर प्रेरित गर्ने काम भइरहेको उहाँले बताउनुभयो । सरकारले पछाडि परेकालाई समानतामा ल्याउने काम नगरेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । सरकराले संविधानमा समानता कायम गर्ने भनेता पनि ऐन निर्माण नहुँदा कार्यान्वयनमा नआएको उहाँको भनाइ छ ।

मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले सरकराले प्रतिबन्ध लगाएको वस्तुमा प्रहरीले हस्तक्षेप गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘सरकारले प्रतिबन्ध लगाएको वस्तुमा हामीले नजरअन्दाज गर्न मिल्दैन, जसले गर्दा प्रहरीले लागूऔषध गाँजा र अफिम फडानी गर्दै आएको हो । अफिम र गाँजा नसकिएसम्म फडानी कार्य जारी नै रहनेछ ।’ प्रहरीले गाँजा, अफिमको विकल्पमा कफी खेतीलाई जोड दिएको बताउँदै कफीको विरुवा तयार हुँदै गेरेको उहाँको भनाइ छ । प्रहरीले लागूऔषध न्यूनीकरण गर्न कफीका विरुवासमेत वितरण गरेको छ ।