नेपालमा बालविवाह गर्न पाइँदैन । मुलुकी ऐन २०२० ले नै नेपालमा बालविवाहमा रोक लगाएको भए पनि विगतमा अभिभावककै करबलमा बालविवाह हुने गरेको थियो । पछिल्लो समय संविधान र अन्य थुप्रै ऐनले बालविवाहलाई गैरकानुनीमात्र होइन दण्डनीय अपराधको रुपमा मानेको छ । बढ्दै गएको सचेतनाले धेरै अभिभावकहरु बालविवाहको विरुद्धमा देखिए पनि बालविवाह अन्त्य हुन सकेको छैन । बालविवाह भइरहेकै कारण सानै उमेर (किशोरावस्था)मा आमा बन्नेको संख्या पनि उल्लेख्य पाइने गरेको छ । नेपालको संविधानको मौलिक हकअन्तर्गत् धारा ३९ (५) मा कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन भन्ने व्यवस्था छ । मुलुकको फौजदारी संहिताले विवाहको उमेर केटा–केटी दुबैको लागि २० वर्ष कायम गरेको छ । २० वर्षभन्दा पहिले विवाह गरेमा तीन वर्ष कैद र ३० हजार जरिवाना तोकिएको छ । बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२ ले सन् २०३० सम्ममा नेपालमा बालविवाह अन्त्य गर्ने लक्ष्य राखेको छ । बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ (२) मा बालबालिकाको विवाह तय गर्ने वा बालबालिकासँग विवाह गर्ने वा गराउने कार्यलाई बालबालिकाविरुद्धको कसूर मानिनेछ र त्यस्तो कसूर गर्नेलाई दफा पचहत्तर हजार रुपैयासम्म जरिवाना र तीन वर्षसम्म कैद हुने व्यवस्था गरेको छ ।
यी सबै कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन नहुँदा बालविवाह गर्ने र किशोरी आमा बन्ने क्रम रोकिएको छैन । मकवानपुर जिल्लामा पनि बालविवाह धेरै भइरहेका छन् । बालबालिका तथा अधिकारकर्मीले केही बालविवाह रोक्ने गरेको भए पनि बालविवाह अन्त्य हुन सकेको छैन । बालमैत्री स्थानीय शासन घोषणा भएका गाउँपालिकाहरुमै उल्लेख्य बालविवाह भइरहेका छन् । बालविवाहले निरन्तरता पाइरहेकै कारण २० वर्ष उमेर नपुगी आमा बन्ने किशोरीको संख्या करिब १० प्रतिशत छ । हेटौंडा अस्पतालमा प्रसुति सेवा लिन आउने गर्भवती तथा सुत्केरी गराउन आउनेमध्ये १० प्रतिशतको हाराहारीमा किशोरी रहनुले बालविवाहको समस्या चुनौतीपूर्ण रहेको पाइन्छ । हेटौंडा अस्पतालमा पछिल्लो ६ महिनाको अवधिमा एक सय ४२ जना किशोरी आमा बनेका छन् । चालु आर्थिक वर्ष २०८०/०८१ को पुस मसान्तसम्म अस्पतालबाट एक सय ४२ जना किशोरीले सन्तान जन्माएका हुन् । हेटौंडा अस्पतालको तथ्यांकअनुसार पुस महिनामा १२ जना किशोरीहरु आमा बनेका छन् । गत साउन महिनामा २७ जना किशोरीहरु आमा बनेका थिए भने भदौ महिनामा २५ जना किशोरी आमा बनेका थिए । असोज महिनामा ३३ जना, कार्तिक महिनामा २२ जना र मंसिर महिनामा २३ जना किशोरी आमा बनेका हुन् ।
यो तथ्यांक हेटौंडा अस्पतालमा आएर प्रसुति सेवा लिएकाहरुको भए पनि जिल्लाका अन्य अस्पताल वा स्वास्थ्य केन्द्रमा प्रसुति सेवा लिन आउनेमध्ये पनि किशोरीको संख्या यस्तै हुनसक्ने अनुमान गर्न सकिन्छ । हाम्रो देश र समाजको लागि बालविवाह एउटा समस्या बनिरहेको छ भने त्योभन्दा विकराल समस्या त्यसैसँग जोडिएको किशोरी आमालाई मान्न सकिन्छ । २० वर्षभन्दा कम उमेरमा विवाह गर्दा बालबालिकाको भविष्य अन्यौलमा पर्छ भने २० वर्षभन्दा कम उमेरमा सन्तान जन्माउँदा शिशु र आमा दुबैका लागि खतरनाक हुनसक्छ । किशोरावस्थामा गर्भवती भई बच्चा जन्माउँदा पछि पाठेघरमा समस्या तथा अनेक रोगको संक्रमणको जोखिम हुने विशेषज्ञहरु बताउँछन् । किशोरीहरुमा व्यक्तिगत स्वच्छतासम्बन्धी पर्याप्त ज्ञान नहुने र व्यक्तिगत स्वच्छतामा ध्यान पु¥याउन नसक्ने समस्या पनि उत्तिकै रहेको छ । जन्मेको शिशुको हेरविचार गर्न नसक्ने भएपछि आमा र शिशु दुबैको स्वास्थ्यमा समस्या आउन सक्छ ।
बालविवाह रोकथामका लागि पर्याप्त कानुन निर्माण गरे पनि बालविवाह अन्त्य हुन नसक्नु विडम्बना बनिरहेको छ । स्थानीय सरकारले बालमैत्री पालिका घोषणा गर्ने तथा घोषणाको तयारी गरिरहेको भए पनि बालविवाह भइ नै रहनु थप चुनौती बनिरहेको छ । सानो उमेरमा विवाह गर्ने र गर्भधारण गर्ने कार्यको पूर्ण अन्त्य आवश्यक छ । यसका लागि तीनै तहको सरकारले पर्याप्त ध्यान दिनुपर्छ । विद्यालयस्तरबाटै बालबालिकालाई बालविवाह गर्न नहुने र किशोरावस्थामा आमा बन्न नहुनेबारे व्यापक सचेतना प्रदान गर्नुपर्छ । महिला स्वास्थ्य स्ययम्सेविकामार्फत् घरदैलो गरेर बालविवाह र किशोरी आमाका नकारात्मक असरबारे सघन छलफल चलाउनुपर्छ । कानुनी व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । यी सबै कार्य गरेमा बालविवाह न्यूनीकरण गर्न सकिन्छ ।