हेटौंडाः १४ औं संस्करणको मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता आज शुक्रबारबाट सुरु हुने भएको छ । प्रतियोगिताअन्तर्गत् शुक्रबार कराँते र उसु हेटौंडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्डहलमा हुने भएको हो ।

कराँतेतर्फको प्रतियोगितामा महिलातर्फ ३० जना र पुरुषतर्फ ३० जना गरी जम्मा ६० जना खेलाडीहरु सहभागी हुने मकवानपुर जिल्लाका कराँते प्रशिक्षक विष्णुभक्त लामाले जानकारी दिनुभएको छ । प्रतियोगितामा महिलातर्फ ४० देखि ६० केजी तौलसम्मका र पुरुषतर्फ ४२ देखि ६० केजी तौलसम्मका खेलाडीहरुको सहभागिता रहने प्रशिक्षक लामाले बताउनुभयो । प्रतियोगितामा महिला र पुरुषको काता प्रदर्शनी गर्ने उहाँले बताउनुभयो ।

यस्तै, उसु प्रतियोगितामा २५ जना खेलाडीहरुको सहभागिता रहने जिल्ला उसु संघका सचिव विश्वनाथ पाठकले बताउनुभयो । प्रतियोगितामा महिला र पुरुषतर्फ ४२ केजीदेखि ४८ केजी तौल समूहका खेलाडीहरुको सहभागिता रहने सचिव पाठकले बताउनुभयो । प्रतियोगितामा थाउलो विधातर्फ थाङसाङ, नानछवान र थाइची छवान विधामा प्रतिस्पर्धा हुनेछ भने सान्सोतर्फ ४२, ४५ र ४८ केजी तौल समूहको खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताअन्तर्गत् तेक्वान्दो प्रतियोगिता शनिबार हुने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालाले बताउनुभयो । तेक्वान्दो प्रतियोगितामा बागमती गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाका खेलाडीहरुको सहभागिता रहने कार्यालय प्रमुख कोइरालाले बताउनुभयो । प्रतियोगितामा महिला तर्फ ४२,४४,४६,४९ र ५२ केजी तौल समूहका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ भने पुरुषतर्फ ४५,४८,५१,५५ र ५९ केजी तौल समूहबीच प्रतिस्पर्धा हुनेछ ।

आइतबारसम्म सञ्चालन हुने प्रतियोगितामा, कबड्डी र एथ्लेटिक्सलगायतका खेलहरु हुने मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्कीले जानकारी दिनुभएको छ । प्रतियोगिता आयोजनाका लागि बागमती प्रदेश खेलकुद विकास परिषद्बाट ४ लाख रुपैयाँ बजेट प्राप्त भएको अध्यक्ष खड्गीले बताउनुभयो । जिल्लास्तरीय प्रतियागितामा प्रथम हुने खेलाडीहरुलाई जिल्ला खेलकुदको नेतृत्वमा १५ दिन बन्द प्रशिक्षणमा सहभागी गराएर प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने उहाँले बताउनुभयो ।

जिल्लाका खेलाडीहरुले राम्रो नतिजा प्राप्त गरुन् भन्ने उद्देश्यले यसपटक २ साता बन्द प्रशिक्षणमा राखिने उहाँले बताउनुभयो । गएको संस्करणको प्रतियोगितामा जिल्लाबाट छनोट भएका खेलाडीहरुलाई १ सातामात्र बन्द प्रशिक्षणमा राखिएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले स्वर्ण, रजत र कास्य पदकसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।