हेटौंडाः हेटौंडा–२ स्थित सिद्धार्थ माविबाट यस वर्ष २ सय ३८ जनाले एसईई दिने भएका छन् । विद्यालयले एसईईका लागि अन्तिम तयारी गराइरहेको प्रध्यानाध्यापक मोहनप्रसाद शर्माले बताउनुभयो ।

एसईई दिने विद्यार्थीका लागि दैनिक विहान–बेलुका कोचिङ कक्षा हुने गरेको छ । विद्यालयले प्रत्यक शनिबार परीक्षा लिने गरेको छ भने यसअनुुसार कक्षामा पढाउने गरेको उहाँले बताउनुभयो । यस तरिकाले विद्यार्थीहरुले नजानेको कुराहरु शिक्षकहरुले सजिलै थाहा पाउने र शिक्षकहरुले त्यहिअनुसार पढाउन सजिलो हुने शर्माले प्रष्ट पार्नुभयो ।

पहिलेको तुलनामा विद्यार्थीहरुले पढाइप्रति ध्यान दिँदै गएका र पहिलो त्रैमासिक परीक्षाको तुलनामा दोस्रो त्रैमासिक परीक्षाको नतिजामा धेरै सुधार भएको उहाँले बताउनुभयो । विद्यालयबाट नियमित कक्षामा पढेर एक सय ४५ जना र खुलाबाट ९३ जनाले एसईई परीक्षा दिने भएका छन् ।

विद्यार्थीहरुको पढ्ने बानी हराएको कारणले गर्दा विद्यालयमा चुनौती आएको उहाँले बताउनुभयो । दैनिक विद्यालयमा कम विद्यार्थीमात्र उपस्थित हुने, आर्थिक विपन्नताका कारणले पनि समस्या आउने प्रध्यानाध्यापक शर्माले बताउनुभयो । शर्माका अनुसार विद्यार्थीका लागि सामाजिक प्रयत्न, जनचेतनात्मक शिक्षा, नैतिकता आचरणसम्बन्धी शिक्षा, विपन्नका लागि सरकारको विशेष कार्यक्रम आवश्यक रहेको छ ।