हेटौंडाः हेटौंडा–१५ स्थित चुरियामाई माध्यमिक विद्यालयमा पाठेघरको मुखको क्यान्सर जाँच हुँदा ४ जनामा समस्या देखिएको छ । बुधबार नेपाल नर्सिङ संघ मकवानपुरको आयोजनामा भएको निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच गराएका एक सय ५७ जनामध्ये ४ जनामा समस्या देखिएको नेपाल नर्सिङ संघ मकवानपुरकी अध्यक्ष गंगा दहालले जानकारी दिनुभयो ।
शिविरमा हेटौंडा उपमहानगरपालिकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्य रहेको थियो । नेपाल नर्सिङ संघ मकवानपुरकी अध्यक्ष गंगा दहालको अध्यक्षता र हेटौंडा–१५ का वडा अध्यक्ष सुनिल मुक्तानको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
महिलाहरुको स्वास्थ्यमा ध्यान दिने उद्देश्यले कार्यक्रमको आयोजना भएको हो । संघको वार्षिक उत्सवको अवसरमा भएको शिविरमा डा. विशाल यादव र डा. निशान अर्याललगायत १७ जनाको समूहले जाँच गरेको थियो । दाहालका अनुसार संघले सय जनाको लक्ष्य बनाएको थियो । हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा भएको शिविरमा हेटौंडा अस्पतालका कार्यसमिति र नर्सिङ स्टाफको समेत सहयोग रहेको थियो ।
शिविरमा जँचाउन आएका महिलाहरुमा पाठेघरको मुखमा संक्रमण, महिनावारीको समस्या, आङ खस्नेलगायतको समस्या देखिएर उपचार भएको दहालले बताउनुभयो । हेटौंडा–१६ का महिलाहरुको पनि स्वास्थ्य जाँच शिविरमा सहभागिता रहेको थियो ।