नेपालमा सडक दुर्घटनाबाट धेरै जनधनको क्षति हुने गरेको छ । सडक सञ्चालनको विकास र विस्तार एवम् सवारी साधनको संख्या वृद्धि हुँदै जाँदा दुर्घटनाको क्रम पनि उस्तै बढिरहेको छ । दैनिकरुपमा भइरहने सामान्य दुर्घटनाप्रति चासो र चिन्ता नलिए पनि धेरैको ज्यान जाने गरी हुने गरेका दुर्घटनाप्रति क्षणिक चिन्ता व्यक्त गरिन्छ । दुर्घटनाबारे अध्ययन तथा छानविन गर्न आयोग वा समिति पनि बनाइन्छ । समितिले छानविन गरी प्रतिवेदन पेश गर्ने बेलासम्म उक्त दुर्घटनालाई धेरैले बिर्सिसकेका हुन्छन् । जसरकारण समितिले बुझाएको प्रतिवेदनलाई दराजमा थन्क्याइन्छ । प्रतिवेदनलाई अध्ययन गरेर त्यसका सुझाव तथा सिफारिसलाई कार्यान्वयन गर्ने चासो देखाइँदैन । फेरि, धेरैको ज्यान जाने दुर्घटना भयो भने सोही प्रक्रियाले निरन्तरता पाउँछ । दुर्घटना अपर्झट हुने घटना हो । जुनसुकै सवारी साधन, जुनसुकै समय र जुनसुकै स्थानमा दुर्घटना हुनसक्ने भएकाले दुर्घटना अन्त्य नै गर्न नसकिए पनि कम गर्न अवश्य सकिन्छ । सडकमा हुने साना–ठूला सबै प्रकारका दुर्घटनालाई गम्भीररुपमा लिएर दुर्घटनाका कारण खोजी गरी प्रभावकारी उपाय अपनाउने हो भने यसालाई न्यूनीकरण गर्न सकिन्छ ।
धेरैवटा राजमार्ग र विभिन्न सडक सञ्जाल रहेको मकवानपुर जिल्लामा पनि थुप्रै सडक दुर्घटना हुने गरेका छन् । मकवानपुरका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी ६ महिनामा ३२ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को पुस मसान्तसम्म विभिन्न दुर्घटनामा ३२ जनाको ज्यान गएको छ । साना–ठूला १ सय १० घटनामा १ सय ४४ वटा सवारी दुर्घटनामा परेका छन् । दुर्घटनामा ५० जना मानिस गम्भीर घाइते भएको र १८२ जना मानिस सामान्य घाइते भएको ट्रापिक प्रहरीको तथ्यांक छ । जिल्लामा भएको सवारी दुर्घटनाबाट गत साउनमा ३ जना, भदौमा एक जना, असोजमा ६ जना, कार्तिकमा ७ जना, मंसिरमा १२ जना र पुसमा ३ जनाको ज्यान गएको छ । विगतको तथ्यांकसँग तुलना गर्दा मकवानपुर जिल्लामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति उस्तै देखिएको छ । जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्म एक सय ६६ वटा सवारी साधन दुर्घटना भएकोमा ३२ जनाकै मृत्यु भएको थियो । दुर्घटनामा एक सय २३ जना गम्भीर र एक सय ९८ जना सामान्य घाइते भएका थिए । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्तसम्म मकवानपुरमा २ सय ९ वटा सवारी साधन दुर्घटना भएकोमा २९ जनाको मृत्यु भएको थियो । उक्त अवधिमा एक सय १ जना गम्भीर घाइते भएका थिए भने २ सय ५४ जना सामान्य घाइते भएका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्यांकअनुसार सबैभन्दा बढी दुर्घटना मोटरसाइकलबाट भएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न कार्यक्रम गर्दै आए पनि सवारी दुर्घटना घटेको छैन । मादक पदार्थ र लागू पदार्थ सेवन गरी सवारी साधन चलाउँदा धैरै दुर्घटना हुने गरेको प्रहरीले बताए पनि सवारी दुर्घटनाका कारणहरु धेरै छन् । सवारी चालकको लापरबाही, फितलो ट्राफिक व्यवस्थापन, जीर्ण र अवैज्ञानिक सडक पनि दुर्घटनाका प्रमुख कारण बन्ने गरेका छन् । यस्तै, बढ्दो सवारी साधनको चाप, साँघुरो बाटो, सवारी साधनको तीब्र गति, जथाभावी ओभरटेक गर्नु, ट्राफिक नियमको पालना नगर्नु र क्षमताभन्दा बढी यात्रु बोक्नु पनि दुर्घटनाका थप कारण हुन् । अझ सारमा भन्दा सडकको अवस्था, चालकको लापरवाही, चालक तथा व्यवसायीको पैसा मोह, यात्रुमा चेतनाको अभाव, ट्राफिक प्रहरीको उदासिनता नै सडक दुर्घटनाका प्रमुख कारण हुन् ।
सडक सवारी दुर्घटनाका अनेकौं कारण भए पनि दुर्घटना न्यूनीकरणमा सवारी चालकको भूमिका सबैभन्दा बढी हुन्छ । हरेक चालकले सम्भावित दुर्घटनाप्रति सचेत र गम्भीर भएर सवारी चलाउने हो भने दुर्घटना धेरै कम गर्न सकिन्छ । सवारी दुर्घटनाका कारणहरु हटाएर दुर्घटना कम गर्ने चुनौती छ । सवारी दुर्घटनाको महत्वपूर्ण कारण मानिएको मानवीय त्रुटी (चालकको लापरबाही) कम गर्न चालक सचेत हुनुपर्छ भने त्यसको नियमन राज्यका निकायले गर्नुपर्छ । चालकलाई सचेत बनाउन बेला–बेलामा प्रशिक्षण दिने, ठाउँ–ठाउँमा जाँच गर्ने, नियमविपरीत काम गर्नेमाथि कारवाही गर्ने, दूरीअनुसारको यात्राका लागि समय तोक्ने, ठाउँ–ठाउँमा रिफ्रेस सेन्टर स्थापना गर्नेलगायतका कामलाई प्रभावकारी बनाउन सकिएमा सडकमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।