हेटौंडाः हेटौंडा अस्पतालमा ६ महिनाको अवधिमा एक सय ४२ जना किशोरी आमा बनेका छन् । चालु आर्थिक वर्ष २०८०/०८१ को पुस मसान्तसम्म एक सय ४२ जना किशोरीहरु सुत्केरी भएका हुन् ।
हेटौंडा अस्पतालको तथ्यांकअनुसार पुस महिनामा १२ जना किशोरीहरु आमा बनेका छन् । एक महिनामा गर्भवती भई प्रसुति सेवा लिन अस्पताल आएका २ सय ७५ जनामध्ये १२ जना किशोरी रहेका छन् । अस्पतालले एक महिनामा सामान्य अवस्थामा एक सय ६४ जना गर्भवतीलाई सेवा दिएको छ । यस्तै, अस्पतालबाट ९३ जनाको शल्यक्रिया गरी बच्चा निकाल्नु परेको थियो भने १४ जनाको गम्भीर अवस्थामा शल्यक्रिया गरिएको हेटौंडा अस्पतालका सूचना अधिकारी राजीव झाले जानकारी दिनुभयो ।
२ सय ७५ जना आमाले एक सय ३९ छोरा र एक सय २९ छोरीलाई जन्म दिएका छन् । अस्पतालले आकस्मिकरुपमा २४ सै घण्टा गर्भवतीहरुलाई सेवा, सुविधा प्रदान गर्दै आएको छ ।
हेटौंडा अस्पतालमा चालु आर्थिक वर्ष २०८०/०८१ को साउन महिनामा २७ जना किशोरीहरु आमा बनेका थिए । यस्तै, भदौ महिनामा २५ जना, असोज महिनामा ३३ जना, कार्तिक महिनामा २२ जना र मंसिर महिनामा २३ जना किशोरी आमा बनेका छन् ।
सरकारले बालविवाह रोकथामका लागि पर्याप्त कानुन निर्माण गरे पनि बालविवाह अन्त्य हुन सकेको छैन । बालविवाह भइरहेकै कारण किशोरीहरु आमा बन्ने क्रमले व्यापकता पाइरहेको हो । २० वर्षअघि विवाह गर्न नपाइने कानुनी व्यवस्था भए पनि बालविवाहले निरन्तरता पाइरहँदा धेरै समस्या भइरहेको छ ।
कम उमेरमा गर्भवती भएका कारण गर्भवती किशोरीहरुको अवस्था गम्भीर हुने भएकाले धेरै ध्यान दिनुपर्ने झाले बताउनुभयो । सानो उमेरमा विवाह, गर्भवतीजस्ता समस्याहरु न्यूनीकरणमा तीनै तहको सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ । अस्पतालले गर्भवती किशोरीहरुलाई राम्रो उपचारमात्र दिनसक्ने उहाँ बताउनुहुन्छ । बालबालिकालाई विद्यालयस्तरबाटै जनचेतना जगाउन र कानुनलाई प्रभावकारी बनाउन अति आवश्यक रहेको झाले बताउनुभयो ।
स्वयम्सेविकाहरुले थाहा भएसम्म विवाह रोकिरहेको हेटौंडा उपमहानगरपालिका–१६ की स्वयम्सेविका देवीकुमारी अधिकारीले बताउनुभयो । स्वयम्सेविकाहरुले विभिन्न कार्यक्रम, र्याली, अन्तरक्रिया गरिरहँदा बालविवाह न्यूनीकरणमा सकारात्मक प्रभाव परेको उहाँको भनाइ छ । आफूलाई जानकारी भएको बालविवाह रद्द गरेको उहाँले दावी गर्नुभयो । हेटौंडा तथा अन्य स्थानका बासिन्दाहरुको बोलीमा परिवर्तन आए पनि व्यवहारमा नदेखिएको उहाँले बताउनुभयो ।
मकवानपुरको भीमफेदी गाउँपालिका–५, सुपिङको स्वास्थ्य चौकीबाट रिफर भई हेटौंडा अस्पतालमा जँचाउन आउनुभएकी मीरा पुडासैनीका अनुसार किशोर–किशोरीहरु घरपरिवारको दवाव, आर्थिक कमजोरीले समस्यामा पर्ने बताउनुभयो । यस्ता समस्याबाट जोगिन बालबालिका लागि विद्यालय तथा घरदैलो कार्यक्रममा सहभागी गराउन आवश्यक रहेको उहाँको भनाइ छ ।
पहिलेको समयमा यस्ता क्रियाकलाप भए पनि अहिलेको समयमा बालविवाह हुन दिन नहुने हेटौंडा अस्पतालमा उपचार गर्न आउनुभएकी सुनिता राईले बताउनुभयो । नेपालको कानुन नेपालीहरुले मान्नुपर्ने उहाँले बताउनुभयो ।
किशोरावस्थामा गर्भवती भई बच्चा जन्माउँदा पछि पाठेघरमा समस्या तथा अनेक रोगको संक्रमणको जोखिम हुने विशेषज्ञहरु बताउँछन् । किशोरीहरुले व्यक्तिगत स्वच्छतामा ध्यान पुर्याउन नसक्ने, व्यक्तिगत स्वच्छतासम्बन्धी ज्ञान नहुने, जन्मेको शिशुको हेरविचार गर्न नसक्ने, आमा र शिशु दुबैमा समस्या देखिने गरेको छ । किशोरीहरुले परिवारको दवाव वा स्वेच्छाले बालविवाह गर्ने गरेका भए पनि पछि धेरैले पश्चाताप्समेत गर्ने गरेका छन् ।
हेटौंडा अस्पतालमा ६ जना महिला तथा प्रसुति रोग विशेषज्ञ डाक्टरले सेवा प्रदान गरिरहनु भएको छ । डा. रामकाजी महर्जन, डा. राघवेन्द्र ठाकुर, डा. विदुर भण्डारी, डा. ज्योति मुडभरी, डा. अस्मिता ओली र डा. प्रशान्त शर्मा महिला तथा प्रसुति स्वास्थ्य विशेषज्ञको रुपमा हुनुहुन्छ । हेटौंडा अस्पतालले मंगलबार र शुक्रबार प्रसुतितर्फ शल्यक्रिया सेवा सञ्चालन गर्दै आएको छ ।