हेटौँडाः नेकपा एमालेसम्बद्ध युवा संघ मकवानपुरको जिल्ला सम्मेलन आयोजक कमिटीको संयोजकमा राजेश नगरकोटी चयन हुनुभएको छ । बुधबार हेटौँडामा भएको युवा संघको विस्तारित जिल्ला कमिटी बैठकले नगरकोटीलाई सम्मेलन आयोजक कमिटीको संयोजक चयन गरेको हो । जिल्ला सम्मेलन आयोजक कमिटीको सहसंयोजकमा सविन लामा चयन हुनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपाल मकवानपुर अध्यक्ष लक्ष्मण उप्रेतिको सभाध्यक्षता र राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसीको प्रमुख आतिथ्यतामा भएको भेलाले सम्मेलन आयोजक कमिटी चयन गरेको हो । भेलालाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष केसीले नयाँ नेतृत्व चयनसँगै संगठनमा नयाँ गति पैदा हुने र कमी कमजोरी हटाई संगठनलाई सशक्त बनाउन र युवामा आकर्षण बढाउन सहयोग पुग्ने विश्वास लिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सवल पार्टीका लागि सशक्त युवा संघ आवश्यक छ ।” त्यसैले यो सदस्य विस्तार, व्यवस्थापन र सदृढीकरणको अभियानमा लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले जनजीविकाका मुद्दा बोक्न, युवाका समस्या समाधानमा लाग्न र आत्मनिर्भर बनाउन युवालाई शिक्षा, सीप, श्रम र उत्पादनसँग जोड्ने लक्ष्य लिन समेत आग्रह गर्नुभयो । उपाध्यक्ष केसीले युवामा आशा जगाउने र नयाँ नेपाल निर्माण गर्ने अभिभारा युवाकै हो भन्दै नयाँ नेतृत्वले युवामा गति आउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका लेखा आयोगका प्रमुख सन्तोष चौलागाई, नेकपा एमाले पोलिट्ब्यूरो सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज देवि ज्ञवाली, नेकपा एमाले मकवानपुरका अध्यक्ष एका लाल श्रेष्ठ, नेपाल खेलकुद महासंघका महासचिव धरम बहादुर लामा, राष्ट्रिय यूवा संघ नेपाल स्थायी कमिटी सदस्य मिलन पाठक, राष्ट्रिय यूवा संघ नेपालका केन्द्रिय सदस्य प्रकाश लामा, दिलमाया घर्ती, राष्ट्रिय यूवा संघ नेपाल बागमती प्रदेशको कोषाध्यक्ष नरेन्द्र भण्डारी, राष्ट्रिय यूवा संघ नेपाल प्रदेश सदस्य विश्वराज राई, नेकपा एमाले जिल्ला कमिटी सदस्य सानुकुमार लामा, नेकपा एमाले जनसंगठन समन्वयका उपसंयोजक आरती पाठकको पनि सहभागिता रहेको थियो ।