हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिकामा प्राधानाध्यापक बैठकले पालिकास्तरीय परीक्षा समिति गठन गरेको छ । गत बिहीबार बसेको प्रधानाध्यापक बैठकले समिति गठन गरेको हो ।
हरेक महिनाको ४ गते बस्ने प्रधानाध्यापक बैठक गर्ने निर्णयअनुसार बिहीबार बैठक बसेको पालिकाका शिक्षा शाखा अधिकृत प्रदीप पराजुलीले बताउनुभयो । बैठकमा प्रधानाध्यापकहरुले स्वतःस्फूर्त पालिकास्तरीय परीक्षा समिति पनि गठन गरेको उहाँले बताउनुभयो । राष्ट्रिय मावि सुनाचुरीका प्रधानाध्यापक सूर्यबहादुर मोक्तानको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो । समितिमा सबै विषयगत शिक्षकहरुलाई समेटिएको जनाइएको छ ।
बैठकमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनका लागि विशेष छलफल भएको अधिकृत पराजुलीले बताउनुभयो । यस्तै, विद्यालयमा अहिले भइरहेको गतिविधिको समीक्षा भएको छ । बैठकमा प्रधानाध्यापकहरुले पालिकाले विद्यालयहरुमा निगरानी बढाएर शैक्षिकस्तरलाई थप व्यवस्थित बनाउन आग्रह गर्नुभएको थियो ।
बैठकमा पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा प्रथम भएको बालजीवन ज्योति माविलाई सम्मान गरिएको छ । पालिकामा अहिले ३२ सामुदायिक र ७ वटा संस्थागत विद्यालयमा १२ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको अधिकृत पराजुलीले बताउनुभयो ।