हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाको दुई स्थानमा भएको निःशुल्क आँखा शिविरमा १८ जनामा मोतिविन्दु देखिएको छ । बकैया गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको शिविरमा १८ जनामा मोतिविन्दु देखिएको बकैयाको ठिंगन स्वास्थ्य चौकीका इन्चार्ज दिमदेश मिश्रले जानकारी दिनुभयो ।
बकैया–१२, ठिंगनमा भएको निःशुल्क आँखा शिविरमा ८ जनामा मोतिविन्दुको समस्या देखिएको छ । आँखा जाँच गराएका ८२ जनामध्ये ८ जनामा मोतिविन्दु देखिएको हो । मिश्रका अनुसार पालिकाले सय जना सेवाग्राहीको आँखा जाँच र १० जनामा मोतिविन्दु पहिचानको लक्ष्य बनाएको थियो ।
शिविरमा तिलगंगा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो । आँखा जाँच गर्न आएका सेवाग्राहीलाई तिलगंगाका एक डाक्टर र २ जना स्टाफ नर्सले जाँच गरेका हुन् । यस्तै, बकैया–१२, मन्थलीमा भएको आँखा शिविरबाट १० जनामा मोतिविन्दुको समस्या देखिएको छ । शिविरमा जाँच गर्न आएका एक सय २३ जनामध्ये १० जनामा मोतिविन्दु देखिएको हो । बकैयाको दुई स्थानमा भएको आँखा शिविरमा मोतिविन्दु पहिचान भएका १८ जनाको हेटौंडा सामुदायिक आँखा अस्पतालमा शल्यक्रिया हुने मिश्रले बताउनुभयो ।