कार्यशालामा सहजीकरण गर्नुहुँदै प्रा.डा. देवी नेपाल ।

हेटौंडाः हेटौंडामा आइतबार नेपाली भाषा शिक्षण, पाठ्यक्रम विमर्श तथा सिर्जनात्मक लेखनसम्बन्धी कार्यशाला भएको छ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) मकवानपुर र ऐरावती प्रकाशनको संयुक्त आयोजनामा कार्यशाला भएको हो ।

कार्यशालामा मकवानपुरभित्रका संस्थागत विद्यालयका एक सय शिक्षकहरु सहभागी थिए । सहभागीहरुलाई पाठ्यपुस्तक लेखक एवम् साहित्यकार प्राध्यापक डा. देवी नेपाल र पाठ्यक्रमविज्ञ डा. गणेशप्रसाद भट्टराईले सहजीकरण गर्नुभयो । कार्यक्रममा बोल्नुहुँदै प्राध्यापक डा. नेपालले भाषिक शुद्धताका लागि नेपाली भाषाको ज्ञान अनिवार्य रहेको बताउनुभयो । कहिलेकाहीँ भाषामा त्रुटि हुँदा अर्थ नै फरक पर्नसक्ने भएकाले भाषालाई सचेत भएर लेखन गर्नुपर्ने उहाँले बताउनुभयो ।

ऐरावती प्रकाशनका अध्यक्ष रामदेव पाण्डेले पछिल्लो समयमा सरकारी निकायबाट आउने सूचनाहरुमा समेत भाषिक शुद्धता नभइरहेको बताउनुभयो । जसले गर्दा सूचनाको मुख्य आशय नै फरक पर्ने गरेको उहाँले बताउनुभयो । भाषालाई कसरी व्यवहारमा लागू गर्ने र विभिन्न सिर्जनात्मक लेख रचनाहरु कसरी लेख्ने भन्नेबारे कार्यशालामा छलफल भएको उहाँले बताउनुभयो । इस्टु मकवानपुरका अध्यक्ष रामशरण रिजालको सभाध्यक्षतामा कार्यशाला भएको हो ।