प्रधानाध्यापक नियुक्त हुनुभएका श्रेष्ठ (बायाँ) लाई बधाई दिनुहुँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक उप्रेती (दायाँ) ।

हेटौँडाः हेटौँडा–११, नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी हस्तलाल श्रेष्ठले पाउनु भएको छ । यसअघिका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीले स्वेच्छिक अवकास लिनु भएपछि रिक्त रहेको प्रधानाध्यापक पदमा श्रेष्ठलाई नियुक्त गरिएको हो । भण्डारीले अवकास लिनुभएपछि कार्यवाहक प्रधानाध्यापकको जिम्मेवारी श्रेष्ठले नै लिनुभएको थियो ।

मावि द्वितीय श्रेणाीका शिक्षक श्रेष्ठले विद्यालयमा सामूहिकरुपमा विद्यालयलाई अगाडि बढाउने बताउनुभएको छ । उहाँले विद्यार्थीलाई अनुशासित बनाएर प्रभावकारी शैक्षिक वातावरण बनाउने बताउनुभयो । कक्षा १० का विद्यार्थीलाई एसईईमा राम्रो नतीजा हासिल गर्न, गराउन गणित, विज्ञान र अंग्रेजी विषयलाई बढी प्राथमिकता दिएर बिहान ८ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ५ बजेसम्म अतिरिक्त कक्षा सञ्चालन गर्ने उहाँले बताउनुभएको छ ।

विद्यालयमा अहिले चलिरहेको परीक्षाको नतिजा यही माघ १२ गते अभिभावकको उपस्थितिमा प्रकाशन गर्ने र विद्यार्थीहरुले प्राप्त गरेको नतिजाको आधारमा आगामी शैक्षिक योजना बनाउने उहाँको भनाई छ । आफुले प्रधानाध्यापकको जिम्मेवारी पाएकोमा खुशी व्यक्त गर्नुहुँदै श्रेष्ठले आफ्नो कार्यकालमा विद्यालयको भौतिक एवम् शैक्षिक सुधारमा सक्दो योग्दान दिने बताउनुभयो ।