विषयप्रवेशः
सामान्यतयाः युवा भन्नाले जीवन प्रगतिको शिखरतर्फ लम्किरहेको नवीन सोच चिन्तनले निर्देशित समाज परिवर्तनको संवाहक हुन् । अर्को भाषामा भन्नुपर्दा मानव समाजको उत्कृष्ट शिल्पी र सर्जक “युवा” रचनात्मक समृद्ध समाज र राष्ट्रको एक कर्मठ साहसी विद्रोही परिवर्तन गर्न सक्ने एउटा शक्ति हो । जानकारहरुले भनेझैं समयका सारथी, युद्धका विजेता, इतिहासका निर्माता, वर्तमानका संवाहक, हिस्सेदार र भविष्यका स्वप्नद्रष्टा एवम् कर्णधार पनि युवा शक्ति नै हो । विश्वमा नै हेर्ने हो भने परिवर्तनका लागि भएका आन्दोलनहरुमा यूवाकोे नेतृत्व अगुवाईमा नै सफल भएको जनमानसमा विदितै छ । परिवर्तनको कुरा गर्ने नै हो भने नेपालको सन्दर्भमा दिगो रुपमा टिक्न सकिरहेको छैन । नेपालमा परिवर्तन संस्थागत हुन नसकिरहेको तितो यथार्थ हामीले भोगिहेका छौँ ।
युवा कसलाई भन्ने, कुन उमेरको समुहलाई भन्ने विषयमा कानुनतः आ–आफ्नो देशको आ–आफ्नो मुल्य, मान्यता छन् । नेपालमा १८ वर्षदेखि ४० वर्षसम्मकालाई युवा भनेर सम्वोधन गरेको छ भने अन्तर्राष्ट्रिय अभ्यासहरुलाई विश्लेषण गर्ने हो भने संयुक्त राष्ट्रसंघले १५–२४ वर्ष उमेर समूहका व्यक्तिलाई युवा मानेको छ । फिलिपिन्स र बंगलादेशले १५–३० वर्षको उमेरलाई युवा, जर्मनीले १४–२६ वर्षको उमेरलाई युवा, भारतले १५–३५ वर्षको उमेरलाई युवा, चीनले १४–२८ वर्षसम्मको उमेर समूहलाई युवा समुह मानेको छ । नेपालमा कुन समुहलाई यूवा भन्ने भनेर मतभेद, द्विविधा र वहसको विषय बनेको छ । यस्तो परिस्थितिमा यूवा भनेर कुन आधारमा परिभाषित गर्ने भन्ने कौतुहल्ताको विषय बनेको छ । हुन त जोश जाँगर र सृजनशीलतालाई आधार मान्न सकिएला तर त्यो भावनात्मक परिभाषालाई मात्र समेटेर हुन्न । युवालाई सही ढङ्गले पहिचान गर्न सकिएन र वैज्ञानिक अनि व्यवहारिक ढङ्गले परिभाषित गर्न सकिएन भने युवा हिजो र आज जस्तै भोलि पनि समस्याको केन्द्रबिन्दु मात्रै बनिरहने डर हुन्छ ।
कहाँ चुकेका छन् नेपाली युवा ?
स्वयम् युवाहरुकै अभिमत रहेको निष्कर्षः नेपाली युवाहरु दिशाहीन यात्रामा निस्किएका छन् । सामाजिक, राजनीतिक, आर्थिक, साँस्कृतिक जस्ता अनेकन कारणहरुले उनीहरु दिशाहीन यात्रामा जानी–नजानी बढिरहेका छन् । यसरी थालिएका दिशाहीन यात्राको नमूनाहरु सरसर्ती यहाँ प्रस्तुत गर्दछु ।
क) पलायनः नेपालको सन्दर्भमा हेर्ने हो भने औँलामा गन्न सक्ने नेपाली युवाले ३० वर्षको उमेरमा आफ्नो पढाई सकेर कुनै रोजगारीको क्षेत्रमा लागेको अवस्था छ । तर बाँकी कयौं युवाहरु नगन्य रुपमा वेरोजगारी, आर्थिक समस्या, शैक्षिक क्षेत्रको अस्तव्यस्त नीतिको कारणले १८ देखि ३० वर्षसम्मका रोजगारीको सिलसिलामा, अध्ययनको सिलसिलामा विदेशिएका, विदेशिने क्रममा छन् । नेपालबाट प्रत्येक दिन रोजगारी र अध्ययनको सिलसिलामा २ हजार ५ सयदेखि ३ हजारसम्म युवा जनशक्ति कामको खोजीमा मलेसिया, खाडी मुलुक लगायतका देशहरुमा जाने गरेका छन् भने अध्ययनको सिलसिलामा अमेरिका, क्यानडा, अष्ट्रेलिया, जापान सम्पन्न मुलुकहरुमा जाने गरेको सरकारी तथ्याङ्कहरुले देखाउँछन् भने खुल्ला सिमाना भएको कारण दोस्रो देशमा र सो देश भएर युद्धग्रस्त मुलुक र श्रम स्वीकृति नभएको देशहरुमा विदेशिनेहरु पनि धेरै छन् । त्यसको तथ्यांक उल्लेख गर्न धेरै नै गाह्रो छ । त्यसमा बढी जसो १८ देखि ४० वर्ष उमेर समुहका युवाहरु पर्दछन् ।
ख) कुलतः युवा पुस्ता भन्ने बितिकै देशको मेरुदण्डको रुपमा हेरिने गरिन्छ । तर व्यक्तिगत, पारिवारिक र सामाजिक क्रमभङ्गताबाट युवाहरु दिशाहीन यात्रामा बढिरहेका छन् । आजको दिनमा अशिक्षा र बेरोजगारीको कारणले साथीभाईको संगत, पारिवारिक झैझगडा, प्रेममा धोकाका कारणले मादक पदार्थ तथा लागुऔषध दूव्र्यसनमा फस्ने गरेका छन् । लागुपदार्थ सेवन गरी आफ्नो जीवन मृत्यूतर्फ धकेलिरहेका छन् । कुलतबाट युवा पुस्तालाई बचाउनु आजको मूख्य चुनौति बनेको छ । यो टाउको दुखाइ हटाउनका लागि विद्यालयस्तरदेखि नै यसको बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।
ग) गैरकानुनी अभ्यासः हातहतियार, लागुऔषध जस्ता गैरकानुनी सामग्री ओसारपसार÷कारोबार, गुण्डागर्दी, आदिमा युवा जनशक्तिको दुरुपयोग राजनीतिक आर्थिकरुपमा हुने गरेको छ । यसले पैसा र मोजमस्तीमा युवालाई भड्काउने काम रोकिनु पर्छ । कडा कानुनी सुरक्षा ब्यवस्थासहितको सही निर्देशन जरुरी हुन्छ । यसका लागि सरकारमात्र नभई परिवार, समाज सबैको उत्तिकै भूमिका हुन जरुरी छ ।
नेपालको परिप्रेक्षमा युवा जनशक्तिलाई उद्यमशीलतातर्फ उन्मुख गर्दै समृद्ध समाज निर्माण गर्न सरकार, समाज, परिवार र युवा स्वयम् जिम्मेवार हुन्छन् । युवाहरुको दिशाहीन यात्राको कारकको रुपमा यी पक्षहरु अछुतो हुन्न । नैतिक रुपमा युवा आफै मात्र नभई युवाको अवस्थाका लागि सरकार, समाज परिवार पनि उत्तिकै जवाफदेही हुनुपर्छ । सरकारको मुख्य उद्देश्य र योजना युवा केन्द्रित हुनु पर्छ । देशको भविष्य युवा हुन् । सरकार यस विषयमा गम्भीर हुन जरुरी छ ।
समाज र परिवारकै छत्रछाँयामा युवाको दिनचर्या चलिरहने भएकोले सही गन्तव्यतर्फ उन्मुख गर्न उनीहरुलाई समाज र परिवारको निर्देशन र रेखदेख जरुरी हुन्छ । चोर औँला कसैतर्फ ते¥साइहँदा बाँकी चार औला आफैँतिर फर्कन्छन् भन्ने तथ्य भुल्न हुन्न । युवा राष्ट्रको महत्वपूर्ण सम्पत्ति र शक्ति हो । उनीहरु नयाँ खोज अनुसन्धानमा हुन्छन् । शक्ति र सम्पन्नताको खोजीमा भौतारिन थाल्छन् । तुरुन्त र ठुलो भाग खोज्न पुग्दा दिशाहीन यात्राको भुमरीमा फस्न पुग्छन् । अन्य विकासोन्मुख राष्ट्रहरुमा जस्तै नेपालमा पनि युवाहरुको अवस्था अवश्य पनि सन्तोषजनक छैन ।
त्यसैले, विश्वव्यापी रुपमा परिवर्तन भइरहेको आर्थिक क्षेत्रमा उद्यमशीलताको महत्वपूर्ण भूमिका छ । हाम्रो नेपाल जस्तो देशमा कयौँ सम्भावना हुँदाहुँदै पनि उद्योग, व्यवसाय, पर्यटनको क्षेत्रमा देश अगाडि बढ्न सकेको छैन । हामीलाई हामीसँग भएको अपार स्रोत र यसको प्रभावकारी ढंगबाट उच्चतम सदुपयोग गरी देश र जनताको आर्थिक समृद्धि गर्ने तर्फ अझैपनि विशेष योजना बन्न सकेको छैन । अझ भन्ने हो भने नेपालमा उद्यमशीलताका लागि चुनौति भन्दा अवसर नै बढी रहेको पाईन्छ । त्यसका लागि सरकारको तर्फबाट युवाहरुका लागि सीपमूलक कार्यक्रमको व्यवस्था, युवाहरुमा स्वदेशी काम प्रतिको सम्मानको वोध गराई तालिम सञ्चालन गर्नुपर्ने हुन्छ ।
समेट्नुपर्ने विषयः परिवर्तित विश्वको स्वरुप र त्यसमा यूवा लक्षित कार्यक्रमहरुमा नेपालमा यूवाहरुले आफ्नो दक्षता अनुसारको काम र आर्थिक लाभ नपाउने भएकोले आफ्नो आर्थिक धरातल नहेरी ऋण काटेर विदेशमा गएर धेरै पैसा कमाउने सपना बोकेर अहिले मलेसिया, साउदी, कतार, युएई, कुवेत, ओमान, बहराइन, दक्षिण कोरिया नेपालीहरुको प्रमुख गन्तव्य बनेको छ । युरोपको विकसित देशमा छिर्ने बाटो खोजिरहेका यूवाहरु क्रोएसिया, पोल्याण्ड, रोमानिया, रुस, युक्रेन जस्ता देशमा जाने नेपाली यूवाहरुको रहर र वाध्यताको श्रम गन्तव्य रहेको पाइन्छ । यि विकासको चरणमा रहेको खाडी मुलुकले र युद्धमा होमिएको राष्ट्रहरुले नेपाली सस्तो युवा जनशक्तिको रुपमा लिई फाइदा उठाइरहेको अवस्थामा यसलाई रोक्न सक्ने नीति निर्माण गर्नुपर्ने देखिन्छ ।
युवाहरुमा यस्तो सोच किन आइरहेको छ यसको तथ्यसम्म पुगेर सरकारले यसतर्फ समयमा नै ध्यान दिन सकेन भने यो अवस्थाले यूवाविहिन नेपाल भनेर विश्व सामु चिनाउन नसक्ला भन्ने छैन । उमेर र योग्यता अनुसारको उनिहरुले गर्न सक्ने कामको अवसर सृजना गर्न सक्नुपर्नेछ । शिक्षा, स्वास्थ्यमा सहज र सुलभता गर्न सक्नुपर्छ । सुन्दर र समृद्ध नेपाल निर्माणका लागि युवाहरुलाई कुनै पनि माध्यमबाट विदेश जानबाट रोक्न सक्नु पर्दछ । देशमा सृजना भएको बेरोजगारी समस्यालाई सम्वोधन गरी रोजगारीको सृजना गर्नु पर्दछ । विदेश मोहमा परेर पलायन हुने युवाहरुलाई चुनौती होइन अवसरका रुपमा लिएर नेपालको मेरुदण्डको रुपमा रहेको कृषिमा यूवा पुस्तालाई आकर्षित गर्ने, यूवा लक्षित शिक्षा स्वास्थ्य जस्तै अन्य रोजगारमुलक कार्यको सृजना गरी राष्ट्र निर्माणमा अघि बढ्न जरुरी छ ।