हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको १४ औँ नगरसभा हेटौंडा–१८, गुम्बाडाँडामा सम्पन्न भएको छ । शनिबार हेटौंडा वडा नम्बर–१८ को कार्यालयको व्यवस्थापनमा उपमहानगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि नगरसभा गुम्बाडाँडा क्षेत्रमा आयोजना गरेको हो ।
स्थानीयस्तरका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि उपमहानगरपालिकाले पहिलो पटक बजार क्षेत्रभन्दा बाहिर नगरसभा आयोजना गरेको हो । उपमहानगरापलिकाका प्रमुख मीनाकुमारी लामाको सभाध्यक्षता भएको नगरसभामा उपप्रमुख राजेश बानियाँ, कार्यपालिका सदस्यहरु, नगरसभा सदस्यहरु तथा उपमहानगरपालिकाका कर्मचारीहरुको उपस्थिति थियो । नगरसभामा उपमहानगरपालिकाको चालु आर्थिक वर्षको बजेट कार्यक्रम संशोधन प्रस्ताव पेश गरिएको छ । नगरसभामा उपप्रमुख बानियाँले नगरपालिकाले गरेका कार्य प्रस्तुत गर्नुभयो । उपमहानगरपालिकाले सवै वडा कार्यालयहरुमा खर्च केन्द्र स्थापना गरी चालु आर्थिक वर्षदेखि वडा कार्यालयमार्फत् कार्यान्वयन हुने परियोजना तथा कार्यक्रमहरु वडामै सम्झौता हुने, वडाबाटै अन्तिम भुक्तानी हुने व्यवस्था मिलाएको बानियाँले जानकारी गराउनुभयो ।
उपमहानगरपालिकाको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा अभिवृद्धि गर्ने उद्देश्यले देशभित्रका सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्गपाल गाउँपालिकासँग भगिनी सम्बन्ध स्थापना गरी पर्यटकीय महत्वको संरचना निर्माणका लागि बजेटमा सहकार्य गरेको छ । ललितपुर महानगरपालिका र बुटवल उपमहानगरपालिकासँग समेत आपसी पहल भएको र अन्तर्राष्ट्रियरुपमा चीनको युनान प्रान्तअन्तर्गतका नगरसँग भगिनी सम्बन्ध स्थापनाका लागि पहल भइरहेको समेत बानियाँले सभामा जानकारी गराउनुभयो । पूर्वाधार क्षेत्रतर्फको चालु आर्थिक वर्षको आयोजना १ हजार १ सय १८ रहेकोमा हालसम्म २ सय ३२ वटा आयोजना सम्झौता भएको छ । सम्झौता भएका आयोजनामध्ये ३२ वटा सम्पन्न भएको र अन्य ९ सय ८६ वटा आयोजना कार्यान्वयनको चरणमा रहेको उहाँले जानकारी गराउनुभयो । गत आर्थिक वर्षको जिम्मेवारी सरी आएका योजनाहरुमध्ये ११० वटा योजनाहरु सम्पन्न भइसकेका छन् भने ६१ वटा आयोजना सम्पन्न हुने क्रममा रहेको उपप्रमुख बानियाँले जानकारी दिनुभएको छ ।
पूर्वाधार विकास कार्यक्रमको भौतिक प्रगतितर्फ प्रथम चौमासिक अवधिमा कंक्रिट सडक २ किलोमिटर, कालोपत्रे ३ सय ५५ मिटर, शैक्षिक पूर्वाधारतर्फ एउटा, सांस्कृतिक जगेर्नातर्फ २ वटा गुम्बा निर्माण, ५ वटा मन्दिर निर्माण, एउटा मदरसा निर्माण र एउटा यात्रु प्रतिक्षालय निर्माण भएको छ । यस्तै, उपमहानगरपालिकाको गौरवका आयोजनाको रुपमा रहेको वडा नं. १० स्थित एकीकृत बस टर्मिनल निर्माण कार्यको भौतिक प्रगति ७० प्रतिशत भएको छ । उपमहानगरपालिकाले भवन इजाजततर्फ चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म भवन निर्माणका लागि ९४ वटा नक्सा दर्ता भएकोमा ७८ नक्सा स्वीकृत गरेको छ । उपमहानगरपालिकाले वडा नम्बर ८ बाट २१ बिघा र वडा नम्बर ४ बाट ८ बिघा जग्गा नगर विकास समितिको मातहतमा ल्याइएको जनाएको छ । उपमहानगरले चालु आर्थिक वर्षमा ३० करोड ९४ लाख रुपैयाँ राजश्व प्रक्षेपण गरेकोमा पौष १५ सम्ममा १५ करोड ४५ लाख आय गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म न्यायिक समितिमा ११९ वटा विवाद दर्ता भएकोमा ४७ वटा मिलापत्र भएको, २ वटा मुद्धा फिर्ता, ४ वटा मुल्तबीमा रहेको र अन्य ६२ वटा विवाद समाधानको चरणमा रहेको बताइएको छ । उपमहानगरपालिकाले पहिलो चौमासिकसम्ममा विभिन्न सिफारिस गरी ३३ हजार ८३ जनालाई सेवा प्रदान गरेको छ । यसै अवधिमा २ हजार ७ सय ८५ व्यक्तिगत घटना दर्ता भएको छ । उपमहानगरले १९ वटै वडामा पहिलो त्रैमासिकभित्र १४ करोड १० लाख ९० हजार ५७८ रुपैयाँ बैकिङ प्रणालीमार्फत् भुक्तानी गरेको छ । चालु आर्थिक वर्षमा २ अर्ब ९० करोड ६२ लाख ६५ हजार बजेट पेश भएकोमा आर्थिक वर्षको हालसम्मको अवधिमा आयतर्फ संघीय सरकार समानीकरण तथा सशर्त अनुदानतर्फ ५५ करोड २३ लाख ३५ हजार, समपूरक अनुदानतर्फ २३ लाख ७५ हजार, विशेष अनुदानतर्फ ८७ लाख ५० हजार प्रदेश सरकार समानीकरण, सशर्त र समपूरक अनुदान गरी ५ करोड ६४ लाख ६९ हजारप्राप्त गरेको छ । यसैगरी, संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँटतर्फ ११ करोड ११ लाख ४८ हजार, उपमहानगरपालिकाको आन्तरिक स्रोत तथा अन्य आम्दानीसमेत गरी हालसम्म जम्मा ७४ करोड २ लाख ५ हजार प्राप्त भएको छ ।
खर्चतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ हालको अवधिसम्म २१ करोड ५३ लाख २७ हजार ८८० रुपैयाँ र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ १ करोड ९७ लाख ६०७ रुपैयाँ खर्च भएको छ । पूर्वाधार विकास क्षेत्रतर्फ ८ करोड ५७ लाख ८५ हजार, सामाजिक विकास क्षेत्रतर्फ ३१ करोड ९९ लाख ४४ हजार र आर्थिक विकास क्षेत्रतर्फ ८६ लाख ४० हजारसमेत गरी कुल व्यय ६४ करोड १८ लाख भएको नगरसभामा प्रस्तुत गरिएको छ ।