पछिल्लो समय मकवानपुर प्रहरीले दिनहुँजसो हेटौंडा बजार र आसपासबाट विभिन्न किसिमका लागूऔषध बरामद गरी कारोबारीलाई पक्राउ गरिरहेको छ । मंगलबार राति मकवानपुरको मनहरी गाउँपालिका–७, रमनटारबाट प्रहरीले १० किलो लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–७ का १८ र २५ वर्षीय युवक छन् । मंगलबार राति नै प्रहरीले हेटौंडा–१५, रातोमाटे चकेपोष्टबाट ८८ किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–६ का २५ वर्षीय युवक छन् । उता बारा प्रहरीले पनि आइतबार लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको थियो । प्रहरीले जीतपुर–सिमरा उपमहानगरपालिका–३ बाट अवैध लागूऔषध ट्रमानिन, फेनार्गन, डाइजेपाम र बुप्रोनोर्फिनसहित २० वर्षीय २ जना, २४ वर्षीय र ४२ वर्षीय एक–एक जना युवकलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेको सबैजसो लागूऔषध कारोबारीहरु २५ वर्षमुनिका युवा छन् । यसले लागूऔषध कारोबारमा युवाको संलग्नताको अवस्था डरलाग्दो देखिएको छ ।

लागूपदार्थ ओसारपसार तथा सेवनमा किशोर तथा युवाहरुको संलग्नता अत्यधिक पाइने गरिएको छ । युवा अवस्थामा अधिकांश मानिसहरु अभिभावकको नियन्त्रणबाहिर हुने र बेरोजगारी समस्याबाट गुज्रिने कारण उनीहरु लागूऔषध कारोबार र सेवनमा संलग्न हुने गरेको पाइन्छ । निर्णय क्षमता र विचारका हिसाबले गतिशील अवस्थामा रहने युवाहरुमा छिटो पैसा कमाउने लालसा अनि नशाको लतले लागूऔषधको जोखिममा परिरहेका छन् । विश्वभरका कूल युवा जनसंख्यामध्ये ५ प्रतिशत युवापुस्ता लागूऔषधको गलत प्रयोगका कारण समस्यामा परिरहेको तथ्यांक पाइन्छ । प्रहरीले लागूऔषधसहित पक्राउ गरेका मानिसहरुमा झण्डै एक तिहाई २५ वर्षमुनिका युवा भेटिने गरेको छ । युवा पुस्ता लागूऔषध कारोबारमा संलग्न हुनु र उनीहरु नै दुव्र्यसनको शिकार हुने सम्भावना बढी देखिनुलाई गम्भीररुपमा लिनुपर्छ । साथी, संगतिको लहलहैमा लाग्ने स्वभावका कारण किशोर तथा युवा अवस्थाका व्यक्तिहरु बढीजसो लागूऔषध कारोबार र सेवनमा संलग्न देखिने गरेका छन् ।

लागूऔषध कारोबारमा युवा पुस्ता संलग्न हुँदा यसले आपराधिक घटना बढाउने गरेको छ । लागूपदार्थको कारोबार र दुव्र्यसनमा फसेका धेरै युवाहरुले आफ्नो अमूल्य जीवन बर्बाद गरिरहेका छन् । यसले उनीहरुको घरपरिवारका साथै समाज र देशलाई नै नकारात्मक असर पारिरहेको छ । आफ्ना सन्तानलाई भविष्यको सहारा मान्ने अभिभावकको सपना तुहिने गरेको छ । विकास र रुपान्तरणको मेरुदण्डका रुपमा रहने युवापुस्ता लागूऔषधको ओसारपसार र सेवनका कारण बेकम्मा हुने डर बढ्दै गएको छ । त्यतिमात्र नभई कलिला उमेरका किशोरकिशोरीसमेत लागूपदार्थको नशामा फसिरहेका छन् । लागूऔषधका कारण युवापुस्ता जेलमा बस्ने र कुलतमा फस्ने हो भने यसले देशको चौतर्फी विकासमा बाधा पुग्दछ ।

कानुनले वर्जित गरेका लागूऔषधको कारोबार गर्ने सञ्जाल नै सक्रिय भए पनि प्रहरी अधिकांश भरियालाई पक्राउ गर्दै आएको छ । लागूऔषधको मुख्य कारोबारी गिरोह पक्राउ हुन नसक्दा लागूऔषध ओसारपसार रोक्न सकिएको छैन । लागूऔषधको कारोबार तथा कुलतमा फसेकालाई निरुत्साहित गर्न प्रहरीले पहिले कारोबारीहरुको नेटवर्क पत्ता लगाई गिरोहको नाइके पक्राउ गर्नु आवश्यक देखिन्छ । लागूऔषध ओसारपसार र दुव्र्यसन नियन्त्रणमा हामी सबैको ऐक्यबद्धता, साथ र सहयोग रहेमात्रै हाम्रा युवापुस्तालाई जोगाउन सकिन्छ । समुदायका सबै पक्षको सहयोगमा प्रहरीले विशेष अभियान सञ्चालन गरेर लागूऔषध कारोबारलाई निर्मूल पार्नुपर्छ । तीनै तहको सरकार, राज्यका प्रशासनिक निकाय, सुरक्षा निकाय, नागरिक समाज, अभिभावक र शैक्षिक संघसंस्थाले प्रहरीलाई सहयोग गर्नु जरुरी छ ।