हेटौंडाः निर्माण व्यवसायी संघ मकवानपुरले सिमेन्टको मूल्य घटाउन माग गरेको छ । आर्थिक मन्दिको समयमा अर्थतन्त्रको सिद्धान्तलाई समेत बेवास्था गर्दै उद्योगीले कार्टेलिङ्ग गरी हालै बजारमा सिमेन्टको भाउ बढाएको निर्माण व्यवसायी संघले आरोप समेत लगाएको छ । बिहिबार संघका महासचिव राजेन्द्र प्रसाद चौलागाईले विज्ञप्ति जारी गर्दै मूल्यवृद्धिको माग गरेको हो ।
उद्योगीहरुले अव्यवहारिक एवम् अवैज्ञानिक ढंगले सिमेन्टको मूल्यमा कार्टेलिङ्ग गरी प्रतिबोरा एक सय रुपैयाँका दरले मूल्यवृद्धि गर्नु कानुन विपरित रहेको संघको ठहर छ । संघले यस्तो किसिमको मुल्यवृद्धि हुँदा समेत नेपाल सरकारले केहि नगरी बसेको भन्दै ध्यानाकर्षण गर्न आग्रह गरेको छ । साथै, म्याद थपमा देखिएको समस्या, हाल निर्माण व्यवसायीहरुको बाँकी रहेको अर्बौं रुपैयाँ भुक्तानी नभएको हुँदा निर्माण व्यवसायीहरु धराशायी हुन पुगेको संघले जनाएको छ । अप्रत्यासित रुपमा सिमेन्टको मुल्यवृद्धि अविलम्ब खारेज गर्न र आम उपभोक्तालाई राहत दिन निर्माण व्यवसायी संघले सरकार र सम्बन्धित निकायसँग माग गरेको छ ।