हेटौंडाः नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्यकर्ताहरुले समाज रुपान्तरणको काम गर्नुपर्ने बताउनुभएको छ । बुधबार नेकपा एमाले जिल्ला कमिटी मकवानपुरको पूर्ण बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले अहिले जनताको अवस्था बदल्न अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।
नेकपा एमाले सरकारमा हुँदा जनहितको पक्षमा महत्वपूर्ण काम सुरु गरेपनि अहिलेको सरकारले यसलाई कटौती गर्दै गइरहेको उहाँले आरोप लगाउनुभयो । उहाँले कार्यकर्तालाई एमालेको पालोमा भएको राम्रा कामको खोजी र प्रचार गर्न आग्रह गर्नुभयो । एमाले समाजवाद प्राप्त गर्ने लक्ष्यका साथ अघि बढेको पार्टी भएकोले समाजको आर्थिक र सामाजिक क्षेत्रको विकास गर्न अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । एमालेको संगठन र कार्यकर्ता बलियो रहेकोले जनतासँग जोडिन पुगेर उनीहरुको जीवनमा परिवर्तन ल्याउन सक्रियता देखाउनुपर्ने उहाँकोे भनाई छ ।
नेता कार्यकर्ताहरुले राजनीतिक आन्दोलनलाई सफल पार्न राजनीतिक दस्तावेज पढ्नुपर्ने उहाँले बताउनुुभयो । तब मात्र समाजमा रुपान्तरणको काम गर्नुसक्ने उहाँको भनाई छ । नेपालमा तीन पटक क्रान्ति हुँदा पनि समाजलाई बदल्न नसकिरहेको र यसको अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा पार्टीको प्रदेश कमिटी, जिल्ला कमिटी र जिल्ला स्कुल विभाग कमिटी गरी ४० जना सहभागी छन् । प्रशिक्षण शुक्रबारसम्म चल्नेछ ।