महाकाली पुगेरका साइकलयात्रीको समूह ।

हेटौँडाः “स्वास्थ्य, पर्यावरण, पर्यटन र साइकल संस्कृति विकासको निम्ति साइकल” भन्ने सकारात्मक सन्देश प्रवाह गर्दै नेपालको पूर्वी नाका मेचीबाट सुरु भएको हेटौँडाका साइकलयात्रीको साइकलयात्रा पश्चिम नेपालको महाकाली पुगेर सम्पन्न भएको छ । यात्रा सुरु गरेको ११ औं दिनमा मंगलबार कञ्चनपुर जिल्लाको महाकालीमा पुगेर यात्रा सम्पन्न भएको साइकलयात्री टोलीका सदस्य भानुभक्त आचार्यले बताउनुभयो ।

झापाको मेचीबाट कार्तिक ११ बाट सुरु भएको यात्रा महाकालीसम्म करिब १ हजार किलोमिटरभन्दा बढी दूरी पार गरेर सम्पन्न भएको उहाँले बताउनुभयो । हिमालयन राईडर्स सोसाइटी हेटौंडाको समन्वयमा सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यको नेतृत्वमा १३ सदस्यीय साइकलयात्रीको समूहले यात्रा गरेका थिए । साइकलयात्रामा हेटौंडाका ११ जना र बुटवलका २ गरी १३ जना रहेका थिए । साइकलयात्री समूहमा हेटौंडाबाट लक्ष्मीचरण श्रेष्ठ, भानुभक्त आचार्य, चेतनाथ आचार्य, बुद्धिबहादुर आलेमगर, राजु थापामगर, लेखनाथ ढकाल, सरोज लामिछाने, ओकिलराज बानियाँ, विकास बानियाँ, सीता श्रेष्ठ र दुर्गाप्रसाद लामिछाने हुनुहुन्थ्यो । बुटवलबाट सुशील चौधरी र सुरज खत्री सहभागी हुनुहुन्थ्यो । साइकलयात्रामा सहभागी सदस्यमध्ये श्रेष्ठ र भानुभक्त आचार्य दोस्रो पटक मेची–महाकाली साइकल यात्रा गर्नुभएको हो । श्रेष्ठ र आचार्यले यसअघि २०५४ सालमा साइकल यात्रा गर्नुभएको थियो ।

दोस्रो पटक मेची–महाकाली साइकलयात्रा तय गर्नुभएका आचार्यले आफुहरुको यात्रा सुखद् भएको बताउनुभयो । यात्राका क्रममा कसैलाई पनि स्वास्थ्यमा र साइकलमा समस्या नआएको उहाँले बताउनुभयो । यात्राका क्रममा आफुहरुलाई सबैबाट साथ, सहयोग र माया प्राप्त भएको उहाँले बताउनुभयो । नेपालको झण्डा फहराउँदै यात्रा गरेको देख्दा सबैको ध्यान आफुहरुतर्फ पुग्ने गरेको र सबैले खुशीका साथ आफुहरुलाई सफल यात्राको कामना गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यात्राका क्रममा केही बालबालिकाहरुले हामीलाई विदेशी ठान्ने गथ्र्यो । अङ्ग्रेजीबाटै हालखबर सोध्ने र यात्राको कामना गथ्र्यो अनि हामीले नेपाली हो भनेर भन्दा अचम्मित हुने गर्थे । बाटो–बाटोमा प्रहरीहरुले बसौँ, पानी पिऔँ भन्ने माया पायौँ । यात्रा अविस्मरणीय भयो ।” आचार्यले यात्राका क्रममा २२ जिल्लामा साइकल नेटवर्क समेत बनाएको बताउनुभयो । आफ्नै व्यक्तिगत खर्चमा यात्रामा निस्किएका टोलीहरुको करिब १५ हजार रुपैयाँसम्म खर्च भएको उहाँले बताउनुभयो । हिमालयन राईडर्स सोसाइटी हेटौँडाका अध्यक्ष राम श्रेष्ठले केही दिनपछि साइकलयात्री टोलीलाई प्रशंसापत्र प्रदान गर्ने बताउनुभएको छ ।