हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकास्थित मनहरी अस्पतालमा जनशक्तिको अभाव रहेको छ । मनहरी अस्पतालमा अहिले जनशक्तिको अभाव रहेको मनहरी अस्पतालका मेडिकल अधिकृत विजय साह कानुले जानकारी दिनुभयो । अहिले मनहरी अस्पतालमा डा. कानुका साथ डा. रेसु रत्न थिङ गरी दुई जना मेडिकल अधिकृत हुनुहुन्छ ।
मनहरी अस्पतालमा राक्सिराङ र कैलाश गाउँपालिकाका सर्वसाधारण पनि स्वास्थ्य परीक्षण गराउन आउँछन् । डा. कानुका अनुसार नेपाल सरकारले दिने निःशुल्क औषधी बाहेक अस्पतालमा स्वास्थ्य बीमा रहेको छ । मनहरी अस्पताल एक आधारभुत अस्पताल भएका कारण अस्पतालमा सामान्य जाँच हुने गरेको छ । सामान्य जाँच हुँदा पनि अस्पतालमा दैनिक ३ सय भन्दा बढि बिरामी आउने गरेका छन् । अहिले चाडपर्व भएकोले अस्पतालमा २ सय २० देखि २ सय ३० जनासम्म स्वास्थ्य परीक्षण गराउन आउने गरेका डा. कानुले जानकारी दिनुभयो ।
मनहरी अस्पतालमा अहिले धेरै सुविधाहरु भए पनि अस्पताललाई औषधी खरिद गर्न भने गाह्रो हुने गरेको छ । मनहरी अस्पतालमा सेवाग्राहीको चापका आधारमा ७ जना मेडिकल अधिकृत आवश्यक हुने डा. कानु बताउनुहुन्छ । मनहरी अस्पतालमा रक्तचाप, ग्यास्ट्रिक, दम, मधुमेह, डेंगु, टाईफाइडका विरामी आउने गरेका छन् । पूर्व–पश्चिम राजमार्गसँगै भएकोले दुर्घटनाका घाइतेलाई पनि उपचारका लागि मनहरी अस्पताल ल्याउने गरिन्छ ।
अस्पतालमा ५ वर्षभन्दा कम उमेरका र ६० वर्षभन्दा बढी उमेरका सेवाग्राही आउने गरेका छन् । डा. कानुका अनुसार मनहरी गाउँपालिकामा स्वास्थ्य क्षेत्रको मासिक बैठक हुने गरेको कानुले बताउनुभयो । बैठकमा पालिकाहरुको स्वास्थ्य क्षेत्रमा पर्ने हरेक संस्था र अस्पतालले आफ्नो कमि कमजोरीको विषयमा छलफल, मासिक समिक्षा तथा पालिकावासीलाई सहज हुने गरी कामको बारेमा छलफल गर्ने गरेको कानुले बताउनुभयो । मनहरी अस्पतालमा रातिको समयमा मद्यपान गरेर बाहिरको मानिसहरुले हल्ला तथा धम्की समेत दिने गरेको उहाँले बताउनुभयो ।
स्वास्थ्यकर्मीको हकमा यी सबैबाट सुरक्षा आवश्यक भएको डा. कानुले बताउनुभयो । मनहरी अस्पतालले उपचार गर्न नसकेका विरामीलाई आवश्यकताअनुसार हेटौंडा अस्पताल, चितवन र काठमाडौंस्थित निजी तथा सरकारी अस्पतालमा रेफर गर्ने गरेको छ । डा. कानुका अनुसार अहिलेको मौसम परिवर्तनको समयमा धुलो, चिसोबाट बच्नु पर्ने बताउनुभयो ।